तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पतालमा उपचारको क्रममा थप तीन जनाको मृत्यु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालित हेटौँडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर उपचारको क्रममा एक जना महिला र दुई जना पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालको आइसियु तथा भेन्टिलेटर कक्षमा उपचाररत तीन जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– १५ का ४३ वर्षीय पुरुष, हेटौँडा–४ की ६० बर्षीया महिला र हेटौँडा–५ का ८५ वर्षीय पुरुष रहेका छन् । मृतक तीनै जना जेठ १ गते यता कोरोना पुष्टि भएर श्वासप्रश्वासमा समस्या भएर हेटौँडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना हुनुभएको थियो ।
योसँगै हेटौँडा अस्पतालमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ भने जिल्लाभरिमा ७६ पुगेको छ ।
अस्पतालमा हाल स्टेप डाउन वार्डमा ८ जना, आइसियुमा १० जना, एचडीयुमा १७ जना र इमर्जेन्सीमा ३ जना गरी ३८ जना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा स्टेप डाउन वार्डबाट ११ जना र इमर्जेन्सी फिबर क्लिनिकबाट ३ जना गरी १४ जना डिस्चार्ज भएको काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button