तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु 

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा आजबाट अक्सिजन उत्पादन सुरु भएको छ ।
शनिवारबाट निर्माण (जडान) सुरु गरिएको प्लान्टमा आजदेखि उत्पादन सुरु गरिएको छ । प्लान्टको आज हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभएको हो ।
हेटौँडामा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएर अक्सिजन अभाव भएपछि हेटौँडाका अक्सिजन व्यवसायी दिपक खनालले भारतबाट काठमाडौँ लानका लागि ल्याउनुभएको प्लान्ट हेटौँडा अस्पतालमा जडान गरिएको हो ।
अक्सिजन प्लान्ट व्यवसायी खनाल र मेयर महत बीचको आन्तरिक सहमतिमा अस्पतालमा जडान गरिएको हो ।
गम्भीर बिरामीको उपचारमा अक्सिजनका कारण समस्या आएपछि काठमाडांै लानका लागि रक्सौल भन्सारमा रहेको प्लान्ट मेयर महतको समन्वयमा हेटौँडा अस्पतालमा जडान गरेर उत्पादन सुरु गरिएको हो ।
दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने उक्त अक्सिजन प्लान्टको खरिद मूल्य ३८ लाख रुपैयाँ रहेको छ ।
अस्पतालमा प्लान्ट नहुँदा चितवन, बारालगायत जिल्लाबाट अक्सिजन भरेर ल्याउने गरिनुका साथै त्यहाँ पनि अभाव हुँदा अन्य जिल्लाबाट समेत ल्याइएको थियो ।
सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताउनुभयो ।
अक्सिजन प्लान्ट नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या आइरहेको बताउँदै उहाँले अब सहज हुने बताउनुभयो । यहाँ उत्पादित अक्सिजनलाई पाइप लाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेसन, वार्डमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने उहाँले बताउनुभयो ।
हेटौँडा अस्पतालमा अहिले ५४ जना कोरोना सङ्क्रमणका बिरामी उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button