तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण 

मकवानपुर । जिल्ला युवा समिति मकवानपुरले हेटौँडा अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा अक्सिजनको अभाव भएसँगै जिल्ला युवा समिति मकवानपुरले नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुसँगको समन्वयमा बारा जिल्लाबाट ल्याइएको ५० थान अक्सिजन सिलिन्डर आज एक कार्यक्रम गरी अस्पताललाई हस्तान्तरण गरेको हो ।

युवा समितिले अस्पताललाई यस अघि पनि ५० थान सिलिन्डर हस्तान्तरण गरेको थियो । मकवानपुर जिल्लामा कोरोना महामारीको रुपमा  दिनप्रतिदिन  समुदाय स्तरमा फैलिरहेको  र सङ्क्रमितको सङ्ख्या पनि तीव्र रुपमा वृद्धि भइरहेकोले हेटौँडा अस्पतालमा अक्सिजनको समस्यालाई टार्नको लागि  अक्सिजन उपलब्ध गराइएको हो ।

जिल्ला युवा समिति मकवानपुरले कोभिड महामारी सूचना तथा सहजीकरण केन्द्रको गठन गरी काम समेत गरिरहेको छ ।

संविधान सभा मञ्चका अध्यक्ष अनन्त पौडेलले अस्पताल विकास समितिका सदस्य हिरा वाइबालाई  अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै कोरोना महामारी विरुद्ध सबै एकजुट भई अगाडि बढ्नुको विकल्प नभएको बताउँदै सरकारलाई सबैले साथ दिएर अगाडि बढ्न अनुरोध गर्नुभयो  ।

अध्यक्ष पौडेलले मुलुकलाई समस्या परेको समयमा जिल्ला युवा समितिले यस्तै प्रकारका सृजनशील काम गर्नुपर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button