तपाईँ सुन्दै हुनुहुन्छः

तानसेन नगरपालिकाले ५० बेडको आइसोलेसन भवन निर्माण गर्ने

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले कोरोना भाइरसले प्रभावित भएका नागरिकका लागि विशेष योजना अघि बढाउने भएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको तानसेन नगरमा कोरोना सङ्क्रमणमा वृद्धि भएसँगै त्यसबाट प्रभावित भएका नागरिकका लागि नगरपालिकाले योजना अघि सारेको हो ।
गत वर्षदेखि नै तानसेन नगरपालिकाले कोभिडबाट प्रभावित भएका नागरिकका लागि पोष्ट कोभिड कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।
गत वर्षको बजेटमा दुई करोड १० लाख रकम विनियोजन गरेर कोरोनाबाट प्रभावित भएका नागरिकका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको नगरप्रमुख शाहीले जानकारी दिनुभयो ।
अहिले कोरोनाको दोस्रो लहर चलेको समयमा समेत सोही बजेटबाट त्यसको रोकथाम तथा न्यूनीकरणमा विभिन्न कामहरू गर्दै आएको नगरपालिकाले जनाएको छ ।
नगर सरकारले अहिलेको समयमा दोस्रो भेरिएन्टसँग जुध्दै त्यसबाट प्रभावित नगर बासीको स्वास्थ्य उपचार तथा राहतका विषयमा समेत छलफल चलेको नगरप्रमुख शाहीले बताउनुभयो ।
नगर सरकारले पाल्पा तत्काल सङ्क्रमित राख्नका लागि त्रिभुवन क्याम्पसको अयोध्याप्रसाद भवनमा अस्थायी आइसोलेसन कक्ष सञ्चालन गरेको भए पनि आगामी दिनमा आफ्नै आइसोलेसन भवन निर्माणको तयारी समेत भएको नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले बताउनुभयो ।
पोष्ट कोभिड कार्यक्रमको बजेटबाट केही रकम थप गरेर अक्सिजनसहितको ५० बेडको आइसोलेसन भवन निर्माण तयारी गरिएको पाठकले बताउनुभयो । जसका लागि ३० लाख रुपियाँ सहयोग गर्छौँ भन्ने सहयोगी दाताहरू समेत सम्पर्कमा आएको नगर उपप्रमुख पाठकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button