तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु

पाल्पा । पाल्पामा थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार होम आइसोलेसनमा बसेकी एक महिलासहित ५ जना सङ्क्रमितको मृत्यु भएको हो ।
होम आइसोलेसनमा मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं. ७ की ६० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
उनमा केही दिनअघि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै बगनासकाली गाउँपालिका वडा नं. ६ का ५४ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै तानसेन नगरपालिका वडा नं.५ की ६१ वर्षीया महिलाको तथा तानसेन–६ का ६१ वर्षीय पुरुषको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताउनुभयो ।
त्यसै गरी तानसेन नगरपालिकाले निर्माण गरेको त्रिभुवन बहुमुखी क्याम्पसको अयोध्याप्रसाद भवनको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–७ काजीपौवाका ६६ वर्षीय पुरुष रहेका तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
चार दिनसम्म युनाईटेड मिसन अस्पतालमा उपचारपश्चात् घर फर्किएका उनलाई शुक्रवार साँझ पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि नगरपालिकाको आइसोलेसनमा उपचार सुरु भएकोमा शनिबार मृत्यु भएको तानसेन नगरपालिकाले जनाएको छ ।
थप ५ जना सङ्क्रमितको मृत्यु भएसँगै जिल्लामा हालसम्म कूल ७४ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button