तपाईँ सुन्दै हुनुहुन्छः

रामपुरमा ७९ वर्षीया महिलाले कोरोना जितेर घर फिर्ता

पाल्पा । रामपुर अस्पतालमा उपचाररत ७९ वर्षीय ज्येष्ठ महिला कोरोना जितेर घर फर्किनुभएको छ ।
आइसोलेसनमा दश दिन अघि उपचारका लागि आउनु भएकी रामपुर नगरपालिका वडा नं ३ रजघरा बस्ने केशमाया कँडेलले कोरोना जितेर शनिवार घर फर्किनुभएको अस्पतालले जनाएको छ ।
कोरोना निको भएसँगै डिस्चार्ज गरेपछि घर फर्कने क्रममा खुसी हुँदै कँडेलले आफ्नो उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो । राम्रो रेखदेखले सुधार भएको बताउँदै कँडेलले आत्मविश्वास कम गराउन नहुने उहाँले बताउनुभयो ।
कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा थप समस्या देखिएपछि दश दिन अघि उपचारका लागि अस्पतालमा आएको र अहिले निको हुँदै गएपछि घर पठाइएको अस्पतालका कोभिड फोकल पर्सन डा.वासुदेव सुवेदीले जानकारी दिनुभयो ।
उहाँलाई अस्पताल विकास समितिका अध्यक्ष वासुदेव भट्टराई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियार लगायतले थप स्वास्थ्य लाभको कामना गर्दै घरमा गएर अपनाउनुपर्ने सजकता र निगरानीका विषयमा परामर्श गर्नुभएको थियो ।
हेर्दा फुर्तिलो देखिनुहुने केशमायालाई निको हुँदै गएपछि ३ दिन यता अक्सिजन हटाइएको फोकल पर्सन डा. सुवेदीले बताउनुभयो ।
स्वास्थ्यमा राम्रो सुधार हुँदै गएपछि घर पठाइएको र नियमित स्वास्थ्य सजकताको लागि भनिएको साथै नियमित सम्पर्कमा आउन र केही असहज भए अस्पताल आउन भनिएको डा. सुवेदी बताउनुभयो ।
अस्पतालले आफ्नै एम्बुलेन्समार्फत उहाँलाई घर पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button