तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस सङ्क्रमणको कारण बीरगंजमा थप चार जनाको मृत्यु

बीरगंज । बीरगंजमा आज उपचारको क्रममा १ जना चिकित्सक, एक जना पूर्व एसपीसहित थप ४ जनाको मृत्यु भएको छ ।
बीरगंज हेल्थ केयर अस्पतालमा कार्यरत २९ वर्षीय चिकित्सक मुराद हुसैनको आज कोरोना सङ्क्रमणबाट उपचारको क्रममा काठमाडौँस्थित मेटिसिटी अस्पतालमा मृत्यु भएको छ ।
सङ्क्रमण पुष्टि भएर काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाँ निवासी २९ वर्षीय डा. मुराद हुसैनको आज मृत्यु भएको वीरगञ्ज हेल्थ केयर अस्पतालका प्रबन्ध निर्देशक डा. अबुल हैस अन्सारीले बताउनुभयो ।
डा. हुसैनले एक महिना अगाडी मात्र आफ्नो एमएस अर्थोपेडिकको पढाई पुरा गरी बङ्गलादेशबाट फर्केर वीरगञ्ज हेल्थ केयर अस्पतालमा काम गर्दै आउनु भएको थियो ।
कोरोना सङ्क्रमितहरूको उपचारमा खटेका डा. हुसेनसँगै अस्पतालमा कार्यरत अन्य ५ जना चिकित्सकमा समेत गत वैशाख २१ गते सङ्क्रमण पुष्टि भएको डा.अबुल हैस अन्सारीले बताउनुभयो ।
डा. हुसैनको बीरगंज हेल्थ केयरमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि जेठ १ गते थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको मेडीसिटी अस्पतालमा लगिएको थियो ।
कोरोना खोपको पहिलो डोज लिए पनि कोरोना सङ्क्रमणले गर्दा उहाँको दुवै फोक्सोमा गम्भीर किसिमको निमोनिया देखिएको कारण श्वासप्रश्वासमा समस्या हुँदै आएको र उपचार कै क्रममा उहाँको मृत्यु भएको डा.अबुल हैस अन्सारीले बताउनुभयो ।
संक्रमण पुष्टि भएका अन्य ४ जना चिकित्सकहरूको अहिले बीरगंज हेल्थ केयरमै उपचार भइरहेको छ ।
यसैबीच नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक तथा तेली कल्याण समाज पर्साका वरिष्ठ सल्लाहकार ६५ वर्षीय हनुमान साहको आज उपचारको क्रममा निधन भएको छ ।
कोरोना सङ्क्रमित भई विगत एक महिनादेखि बीरगंजको नारायणी अस्पतालमा उपचाररत साहको आज निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
यसै गरी नारायणी अस्पतालमा उपचाररत रौतहटको जयनगर वडा नम्बर १ निवासी ५० वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणको कारण अवस्था गम्भीर बनेपछि जेठ ७ गते रौतहटबाट नारायणी अस्पतालमा ल्याइएको पुरुषको भेन्टिलेटरमा उपचार हुँदै गर्दा गम्भीर निमोनियाको कारण आज बिहान निधन भएको नारायणी अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।
त्यसै गरी रौतहटकै सुन्दरपुर वडा नम्बर ४ निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा आज दिउँसो ११ः४० बजे मृत्यु भएको डा.दासले बताउनुभयो । महिलालाई जेठ ५ गते थप उपचारका लागि रौतहटबाट वीरगन्ज ल्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button