तपाईँ सुन्दै हुनुहुन्छः

एकै दिन १ सय ५० भन्दा बढीले गरे सगरमाथा आरोहण (फोटो फिचर)

सोलुखुम्बु  । सामुद्रिक आँधी ताउतेको प्रभावले सगरमाथा क्षेत्रमा पनि मौसम परिवर्तनको खतरा हुनसक्ने भन्दै केही दिनअघि स्थगित गरिएको सगरमाथा आरोहण खुला भएसँगै एकै दिन करिब डेढ सयभन्दा बढीले विश्वको अग्लो शिखर सगरमाथाको आरोहण गरेका छन् ।

आरोहीहरू शनिबार नै तयारी अवस्थामा चौथो क्याम्प पुगे पनि धेरै हावा चलेपछि आरोहण भएन । आधार शिविरको मौसम अनुकूल भएपछि आज बिहान पाँच बजेबाट ठुलो सङ्ख्यामा आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरमा सम्पर्क अधिकृतको रुपमा रहनु भएका ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आरोहणका लागि दुई सयभन्दा धेरै आरोही प्रस्थान गरेकोमा त्यसमध्ये डेढ सयभन्दा बढी शिखरमा पुगेको उहाँले बताउनुभयो । कतिपयको जानकारी सङ्कलन गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

गत वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।

यसअघि वैशाख २८ र २९ गते गरी झण्डै १ सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए ।

यस वर्ष ४४ आरोहण दलबाट ४सय ८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् । यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च हो । जसमा ३ सय १५ जना पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

आरोहण अनुमति लिएका भन्दा उनीहरूका सहयोगी धेरै हुने भएकाले यो बर्ष सगरमाथा आरोहणका लागि साढे आठ सयभन्दा बढीको सङ्ख्यामा आधार शिविर पुगेका छन् ।

आज नै तीन जना भारतीय नागरिकसहित २५ जनाभन्दा बढीले ल्होत्से हिमालको आरोहण सम्पन्न गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

१० दिन अघि बहराइनका राजकुमार शेख मोहम्मद हमाल अलिफासहितको टोलीले आरोहण सम्पन्न गरेको थियो भने बाँकी आरोहण अब जेठ १५ मा मात्र गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

सोमबारदेखि हिमपात हुने बढी हावा चल्ने मौसम भएकाले फेरी एक साता आरोहण स्थगित गरेर जेठ १५ मा मात्र आरोहण गर्ने तयारी गरिएको बताइएको छ ।

यसैबीच, सगरमाथा आरोहणमा गएका केही आरोहीहरू आधारशिवरबाट फर्किएका छन् । आरोहणका लागि अनुकूल मौसमको प्रतीक्षामा बसेका कतिपय आरोहीहरू बिरामी परेका कारण काठमाडौं फर्किएको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिन मौसम अनुकूलताको पर्खाइमा बसे पनि उनीहरूलाई रुघाखोकी, ज्वरो लगायतका समस्या देखिएकाले फर्किएको उहाँको भनाइ छ ।

आधार शिविर कोरोना जोखिमबाट भने मुक्त रहेको अधिकृत श्रेष्ठले बताउनुभयो । फर्किएका कतिपय आरोहीहरूलाई कोरोना पुष्टि भए पनि उनीहरू अन्य क्याम्पका आरोहीहरूसँग सम्पर्कमा नपुगेको अधिकृत श्रेष्ठको भनाइ छ ।

तस्बिर सौजन्य : सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button