तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियनले सञ्चारकर्मीका लागि राहत कोष स्थापना गर्ने

काठमाडौँ । नेपाल प्रेस युनियनले कोभिड–१९ बाट प्रभावित सञ्चारकर्मीलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । यही जेठ १३ गते युनियनको स्थापना दिवसका दिन राहत कोषको घोषणा गरिने युनियनले जनाएको छ ।
प्रेस युनियन केन्द्रीय कार्यसमितिको जुमप्रविधिमार्फत आज सम्पन्न बैठकले रिर्पोटिङमा काम गर्ने सबै सञ्चारकर्मीका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग समेत गरेको अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । बैठकले कोभिड–१९ बाट सङ्क्रमित सबै सञ्चारकर्मी तथा आम नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सुरक्षा सावधानी अपनाएर रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन सञ्चार गृहलाई र स्वयम् पत्रकारलाई पनि सचेत रहन आग्रह गरेको छ ।
बैठकले यही जेठ १३ र १४ गतेका लागि निर्धारित प्रेस युनियनको केन्द्रीय महाधिवेशन कोभिड–१९ का कारण हाललाई स्थगित गर्ने र सहज परिस्थिति भएपछि शीघ्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।
विचार तथा अभिव्यक्ति स्वतन्त्रतासहित नागरिक अधिकारको रक्षाका लागि एकजुट भई आन्दोलनमा आ–आफ्ना क्षेत्रबाट उत्रिन सम्पूर्ण पेसागत सङ्घसंस्था, नागरिक समाज र राजनीतिक दललाई युनियनले आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button