तपाईँ सुन्दै हुनुहुन्छः

पदभार ग्रहण गर्दै मन्त्री लम्सालले भन्नुभयो, अब उद्योग नवीकरण अनलाइनबाटै

पोखरा । मन्त्री विकास लम्सालले आज पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।
आज उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गण्डकी प्रदेश भित्रका उद्योगहरू अब अनलाइन प्रणालीमार्फत नवीकरण गर्न मिल्ने फाइल सदर गर्नुभएको छ ।
वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नु भएका मन्त्री लम्सालले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई जनमुखी बनाउन समेत जोड दिनुभयो ।
उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिँदै उहाँले मन्त्रालयका कार्यक्रम कार्यान्वयनमा उच्च प्रगति हासिल गर्ने सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभयो ।
मुलुकलाई औद्योगिकीकरण नगरेसम्म आर्थिक समृद्धि नहुने धारणा राख्दै त्यसतर्फ सबैको ध्यान जानु पर्नेमा जोड दिँदै मन्त्री लम्सालले एक स्थानीय तहमा एक उद्योग ग्राम निर्माण गर्ने, पालिकामा उद्योग मैत्री वातावरण निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने, दैनिक उपभोग्य सामाग्री उत्पादन गरेर आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।
साथै उहाँले २ वटा प्रादेशिक स्तरीय औद्योगिक क्षेत्रको कामलाई समेत तीव्र गति दिने बताउँदै दैनिक उपभोग्य वस्तु तथा खाद्य पदार्थमा आधारित उद्योगलाई  प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
युवा, विपन्न, बेरोजगार, कोरोना प्रभावित एवम् सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशीलता विकासका लागि व्यावसायिक, सिपमूलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै उद्योग मर्मत उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुग्ने गरी काम गर्ने बताउनुभयो ।
यस अघिको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई फुटाएर पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय बनाइएको छ ।
वन, वातावरण तथा भू संरक्षण मन्त्रालय पहिलेकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा राखिएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको भवन मासबारमा राखिएको छ ।
मन्त्री लम्सालले दुवै मन्त्रालय सम्हाल्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button