तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा समस्या

ओखलढुङ्गा । ओखलढुङ्गामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अन्यौलता उत्पन्न भएको छ ।
जिल्लामा यसअघि कोरोनाबाट मृत्यु नभएको र शव व्यवस्थापनबारे कुनै पूर्व तयारी नभएकाले कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा समस्या भएको हो ।
कोरोनाबाट मृत्यु भएकाको कसरी दाहसंस्कार गर्ने भन्ने अन्यौलताकै कारण सोमबार बिहानै कोरोनाबाट ज्यान गुमाएकी सिद्धिचरण नगरपालिका वडा नं ११ की ५८ वर्षीय महिलाको शव व्यवस्थापन हुन सकेको छैन । जिल्लामा शव सदगद गर्ने निश्चित स्थान र मापदण्ड नतोकिँदा समस्या भएको हो ।
मृतकका आफन्तले आफ्नो परम्परा अनुसार दाहसंस्कार गर्ने भन्दै त्यसमा सरकारी निकायको सहयोग मागेका छन् ।
सरकारी मापदण्डमा पनि परिवारका आफन्तले चाहेमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बढीमा १५ जना सम्मको उपस्थितिमा गर्न मिल्ने अन्यथा नेपाली सेनाले गर्ने उल्लेख छ ।
परिवारले नचाहेमा वा सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्त कोही नभएमा नेपाली सेनाको टोलीले कुनै एक स्थानमा शवको व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी वन्दना राईले बताउनुभयो ।
कार्यविधि र निर्देशिकाभन्दा बाहिर गएर निर्णय गर्न नपाइने भएकाले ठोस निर्णय नगरिएको उहाँको भनाई छ ।
नेपाली सेनाले आफ्नो मापदण्ड अनुसार शव व्यवस्थापन गर्ने र त्यसमा परिवार र समाज सहभागी हुने नपाउने प्रमुख जिल्ला अधिकारी राईको भनाई छ ।
तत्काल निचोडमा पुगेर शव व्यवस्थापन गराउने पहल भइरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button