तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरले सङ्कटमा कर्णालीका उद्योग 

जुम्ला ।  दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी निषेधाज्ञाले कर्णालीका उत्पादनमूलक उद्योग सङ्कटमा परेका छन् ।
गत वर्ष ९÷१० महिना ठप्प भएर भर्खर लयमा फर्किन थालेका उद्योगधन्दा फेरी थला परेका हुन् ।
कडा निषेधाज्ञाले उद्योग सञ्चालन तथा उत्पादित बस्तुको बजारीकरण नहुँदा एकातर्फ सयौँले रोजगारी गुमाएका छन् । भने उद्यमीहरू ऋणमा डुब्दै गएका छन् ।
जुम्लामा पछिल्लो समयमा उद्योग दर्ता गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
स्वदेशमै इलम गरेर रोजीरोटी जुटाउने तयारीमा रहेका नवउद्यमीहरु शुरुमै घाटामा परेका छन् ।
करिब १० लाखभन्दा माथिको लगानीमा सञ्चालन गरिएका उत्पादनमूलक उद्योग बन्द भएपछि उद्यमी घाटामा परेका हुन् ।
चैत मसान्त सम्मको तथ्याङ्क अनुसार जुम्लामा करिब ८२ करोड लगानीमा ८ सय ६९ वटा उद्योग दर्ता भएका छन् । जसमा उत्पादनमूलक तर्फ ६ सय ५ वटा उद्योग रहेका छन् । अहिले दोस्रो लहरको कोरोना कारण सबै उद्योग पूर्ण बन्द भएका छन् ।
तिला गाउँपालिका–४ का उद्यमी कृष्णकान्त चौलागाईले स्वदेशमै आय–आर्जन गर्ने सोचले १० लाखको लगानीमा तरकारी तथा फलफूल उद्योग सञ्चालन गरेको बताउनुभयो । तर  कोरोनाले गर्दा गरिखान नदिएको उहाँको गुनासो छ ।
त्यस्तै तिला ८ का बल बहादुर बस्नेत पनि कोरोनाले गर्दा भर्खर सञ्चालन गरेको उद्योग बन्द भएपछि घाटा व्यहोर्नु परेको बताउनुहुन्छ ।
कृष्णकान्त र बलबहादुर मात्र नभई जुम्लाका करिब ६ सय उद्यमीहरू कोरोनाले गर्दा सङ्कटमा परेका छन् ।
करिब साढे दुई करोडको उत्पादन थन्कियो
जुम्लाको आरके स्याउ प्रशोधन तथा फलफूल डिस्टिलरी उद्योगको करिब २ करोड बराबरको उत्पादित सामान थन्किएको छ ।
दोस्रो लहरको कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण देशका मुख्य सहरहरू बन्द भएपछि उद्योग सङ्कटमा परेको उद्योग सञ्चालक रामकृष्ण चौलाँगाईले बताउनुभयो ।
उहाँले भन्नुभयो,“गत वर्षको ऋण फेरी ऋण निकालेरै तिरियो । धौधौ गरी श्रमिकलाई तलब खुवाइयो । यसपालि ठुलो सङ्कट आइपरेको छ । करिब साढे २ करोडको उत्पादन थन्किएपछि उद्योग नै सङ्कटमा छ ।”
अर्ग्यानिक स्याउबाट उत्पादन हुने चाना, वाइन, जुस, साइटर, मार्फा लगायतका करोडौँ बराबरको उत्पादित सामान थन्किएको उहाँको भनाई छ ।
काठमाडाँै, विराटनगर, पोखरा, हेटौडा, सुर्खेत नेपालगन्ज लगायतका बाह्य सहरहरूमा कोरोनाको अवस्था सामान्य नभएसम्म आफ्नो उद्योग बन्द गर्नुको विकल्प नरेको समेत उहाँले उल्लेख गर्नुभयो  ।
सरकारले व्यवसायी उद्यमीका लागि राहत प्याकेजका कुरा मात्रै गरेर गत वर्ष पनि यस वर्ष पनि घाटामै पारेको उहाँले दुखेसो गर्नुभयो ।
यता जिल्लाकै पहिलो राडी पाखी उद्योग पनि लाखौँ घाटा खानुपरेको उद्योग सञ्चालन कुन्जाङ पुटिक तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो,“करिब ५ लाख बराबरको उत्पादित सामान थन्किएको छ । विक्री भएको डेढ दुई लाख उठ्न बाँकी छ । उद्योग सञ्चालन गर्दा ल्याएको ऋण तिर्न बाकी छ । बैङ्कले किस्ता हाल्न ताकेता गरेको गरै छ । तर कमाई छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button