तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसनमा उपचाररत सङ्क्रमितलाई निःशुल्क भोजन

सुर्खेत । प्रदेश आयुर्वेद औषधालय सुर्खेतको कोभिड–१९, आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीका लागि निःशुल्क अमृत भोजन (पथ्याहार) अभियान सञ्चालनमा ल्याइएको छ ।
जिल्लामा क्रियाशील विभिन्न स्वयंसेवी सङ्घसंस्थाको सहयोगमा नेपालमै पहिलो पटक आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमितसँगै कुरुवालाई निःशुल्क अमृत भोजन खुवाउने अभियान सञ्चालनमा ल्याइएको हो ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका स्थानीय स्तरमै उत्पादित अर्ग्यानिक खाद्यान्नबाट बनेका भोजन दैनिक ३ पटक निःशुल्क खुवाउँदै आइएको अमृत भोजन (पथ्याहार) अभियानका संयोजक अनिल ढकालले बताउनुभयो ।
उहाँका अनुसार अमृत भोजन (पथ्याहार) अभियानमा मोटे ग्याङ, तनाव छ जिन्दगी, जीवन विज्ञान संस्था, सेल्फ हेल्थ समूह लगायतको सहयोग रहेको छ ।
प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले औषधालय परिसरमा भोजनालयको व्यवस्था नहुनु र निषेधाज्ञाका कारणले आइसोलेसनमा उपचाररत बिरामीका लागि टाढा–टाढाबाट खाना बोकेर ल्याउन समस्या भएकाले विभिन्न स्वयंसेवी सङ्घसंस्था र कार्यालयको सहयोगमा निःशुल्क अमृत भोजन (पथ्याहार) अभियान सञ्चालन गरिएको बताउनु भयो ।
औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले देशमै पहिलो पटक आइसोलेसनमा उपचाररत कोरोना संक्रमित बिरामीसँगै कुरुवालाई निःशुल्क भोजनसँगै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि तथा चिया नास्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button