तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्ग : कुश्माबजारमा चार लेन 

 

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्माबजारमा चार लेनमा सडक बिस्तार भइरहेको छ । २४ किलोमिटर खण्ड मध्ये कुश्माबजार र पातीचौरमा चार लेन सडक बन्ने भएको हो । कुश्माबजारको खरेयादेखि डम्डारेखोलासम्मको खण्डमा चार लेन विस्तार अहिले भइरहेको छ । सडकमा अहिले नाली निर्माण, डिभाईडर निर्माण सकेर कालोपत्रका लागि बेश बिछाउन थालिएको छ ।

कुश्माबजारमा अबको एक महिनामा सबै काम सक्ने लक्ष्य राखिएको छ । लोकमार्ग आयोजना कार्यालयका अनुसार कुश्माबजारभित्रको चार लेन बिस्तारमा भएजतिको जनशक्ति परिचालन गरिएको छ ।

पर्वतको सबै खण्ड असारसम्ममा सक्ने लक्ष्य रहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण गरिएको निषेधाज्ञाले निर्माण कार्य रोकिएको छैन । जिल्लाभर अत्यावश्यक सेवा बाहेकका सेवा र राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्ने जिल्ला प्रशासन कार्यालयको निर्णय छ ।

निषेधाज्ञाका कारण सडकमा सवारीसाधन नगुड्दा काम गर्न सहज भएकाले तीव्र रुपमा निर्माणको काम भइरहेको मरासिनीले जानकारी दिनुभयो ।

कुश्मा बजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार भएपनि अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो । मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रेको काम सकिएको छ । बजार क्षेत्रभन्दा बाहिरको मालढुंगा–छमर्के खण्डमा ५ किलोमिटर कालोपत्रे गरी सकिएको छ ।

चुवाको भीर, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भीरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । विसं २०७५ वैशाखदेखि सुरु भएको पर्वत खण्ड विस्तारको काम गएको भदौमा सकिनुपर्ने हो ।

कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको छ । मध्य पहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टे खोला सम्मको खण्डको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिएमा कास्की खण्डको काम पूरा हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button