तपाईँ सुन्दै हुनुहुन्छः

बिक्री भएन सल्यानका किसानले उत्पादन गरेको तरकारी

सल्यान । प्रशासनले निषेधाज्ञा जारी गर्दा सल्यानका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन ।
विश्वभर फैलिएको कोभिड१९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहुँदा किसानहरू चिन्तित भएका छन् ।
बजारसम्म तरकारी पुर्‍याउन र पुर्‍याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोक बहादुर भण्डारीले बताउनुभयो ।
१४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नु पर्ने अवस्था आउन थालेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘बजार सबै बन्द छन् को आएर हाम्रो तरकारी किनिदिने हो र ? किन्ने मान्छे नै आउँदैनन् ।’
गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्‍याएको उहाँले बाउनुभयो । यो वर्ष कोरोनाले धेरै मानिस निधन भएकोले पनि मानिस डराएर कोही पनि बारीमा तरकारी किन्न नआउने गरेको उहाँको भनाई छ ।
१४ रोपनीमा लगाएको मुला, काँक्रो, सिमी, बन्दा, करेला लगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएका भण्डारीले बताउनुभयो ।
गत वर्ष लकडाउन भए पनि ८ लाख आम्दानी भएको भए पनि यो वर्ष भने एक दुई लाख हुन्छ की हुँदैन चिन्ताले सताउन थालेको छ ।
निषेधाज्ञा नहुँदै तरकारी टिप्ने समय नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको अर्का किसान प्रदीप वलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिमी, बन्दा , धनियाँ, काँक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन् ।’
तरकारीको बिक्रीले नै घर खर्च टार्ने किसानहरू आम्दानी नभएपछि मर्कामा परेको वलीको भनाई छ । उहाँले भन्नुभयो, ‘तीन रोपनीमा लगाएको तरकारी अहिलेसम्म बिक्री भएको छ । अबको एक हप्ताभित्र तयार भएको तरकारी बजार पठाउन नसकिए काटेर फाल्नु पर्ने हुन्छ ।’
जिल्लाबाट वार्षिक ३० देखि ३५ करोडको तरकारी जिल्ला बाहिर निकासी हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button