तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा थप २ सङ्क्रमितको मृत्यु, ४१ जना सङ्क्रमित थपिए

वीरगंज । वीरगंजमा आज कोरोना सङ्क्रमणको कारण थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगंजको नारायणी बयोधा अस्पतालमा उपचाररत ६५ बर्षीया महिलाको आज मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १० पानीटंकी निवासी ६५ बर्षीया महिलालाई उपचारका लागी वैशाख २७ गते नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा आज मृत्यु भएको नारायणी बयोधा अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।
त्यसै गरी वीरगंजको नारायणी अस्पतालमा उपचाररत सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर ६ निवासी ५८ बर्षीया महिलाको गए राती मृत्यु भएको छ ।
नारायणी अस्पतालमा जेठ ४ गते भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण गए राति मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणको कारण वीरगन्जस्थित विभिन्न अस्पतालमा भर्ना भएका पर्सा जिल्लाका मात्र १ सय ६६ जना र अन्य जिल्लाका १ सय ४७ जना गरी वीरगंजमा ३ सय १३ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत बिनय श्रीबास्तबले जानकारी दिनुभयो ।
४१ जनामा कोरोना संक्रमण पुष्टि
वीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा थप ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पीसीआर परीक्षणको क्रममा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा २५ जना पुरुष र १६ जना महिला रहेका छन् ।
संक्रमित मध्ये २४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १० जना, रौतहटका १ जना, सर्लाहीका ४  जना र महोत्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १४ बर्ष देखी ८५ बर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १७ दशमलव ४ देखी ३४ दशमलव ६ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।
जेठ महिनाको पहिलो साता देखी नै वीरगंजमा कोरोना संक्रमण हुनेहरुको दर लगातार घट्दै गएको छ ।
यसै गरी नारायणी अस्पताल लगायत बीरगंजका विभिन्न अस्पतालहरूमा अहिले कोरोना संक्रमित २ सय ९६ जनाको उपचार भइरहेको छ । जसमध्ये २६ जनाको भेन्टिलेटरमा १ सय २४ जनाको आइसियुमा र १ सय ४६ जनाको एच डि यु मा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत बिनय श्रीबास्तबले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button