तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा थप ९३ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु

अछाम । अछाममा पछिल्लो समय करिब १ सय हाराहारीमा कोरोना भाइरसका संक्रमित देखिन थालेका छन् । मङ्गलवार पनि अछाममा थप ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय २० नमुना परीक्षण गरिएकामा ९३ जनामा संक्रमण पुष्टि भएको हो ।
पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका र दैलेखको आठविस नगरपालिका मार्फत १ सय २० जनाको स्वाब सङ्कलन गरी गरिएको परीक्षणमा १५ जना महिला र ७८ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
आज थपिएका सङ्क्रमितमध्ये जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका वडा नम्बर ५, ७ र ८ का १३ जना महिला र ६७ जना पुरुष गरी ८० जनामा संक्रमण देखिएको छ ।
यस्तै  रामारोशन गाउँपालिका वडा नम्बर १ का २ जना महिला र १० जना पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला बाहिरका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा दैलेख जिल्लाको आठविस नगरपालिका वडा नम्बर ६ का १ जना पुरुष हुन् ।
हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ६ सय ५७ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अछाम जिल्लामा जम्मा सङ्क्रमितको सङ्ख्या ३५ सय ६५ पुगेको छ । संक्रमित मध्ये २७ सय १६ जना निको भई घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अछाममा कोरोना संक्रमित २० औँ व्यक्तिको मृत्यु
जिल्ला अस्पताल अछाममा उपचार गराइरहेका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर १ का ६३ वर्षीय पुरुषको उपचारको क्रममा गए राति ज्यान गएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाजले बताउनुभयो । उनको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।
संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या तथा अक्सिजनको मात्रा एकदमै कम भएर जेठ ७ गते जिल्ला अस्पताल अछाममा ल्याइएको उहाँले बताउनुभयो ।
यो सँगै अछाममा कोरोना भाईरस सङ्क्रमणका कारण २० जनाको ज्यान गएको छ । पहिलो लहरमा ५ जना तथा दोस्रो लहरमा १५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button