तपाईँ सुन्दै हुनुहुन्छः

संसद्ले गर्ने काम एक एक गरेर अदालतलाई जिम्मा दिनु उपयुक्त नहुने : बिजुक्छे  

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्ले गर्ने काम एक एक गरेर अदालतलाई जिम्मा दिनु उपयुक्त नहुने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले यदि जनताले गर्ने काम अदालतलाई जिम्मा दिने हो भने अर्को संविधानमा सोही अनुसार बन्दोबस्त हुनुपर्ने बताउनुभयो ।

बदलिँदो राजनीतिक घटनाक्रमलाई लिएर नेपाली काँग्रेस लगायतका विपक्षी दलहरू सर्वोच्च अदालत गएपछि बिजुक्छेको यस्तो प्रतिक्रिया आएको हो ।

विपक्षी दलहरू अदालत जानु अनौठो नभएको भन्दै उहाँले यस अघि पनि उनीहरू अदालत गएको उल्लेख गर्नुभयो ।उहाँले अब दलहरू सत्तामा जाने लुछाचुँडी छाडी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रजातन्त्रको एउटा महत्त्वपूर्ण सर्त निर्वाचन हो भन्दै निर्वाचनलाई स्वीकार नगर्नु बहिष्कार र आन्दोलन भएको बताउनुभयो ।

निर्वाचनबाटै जनताको मत र आदेश लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै सरकारमा जाने बाटो चुनावपछि पनि हुने भएकाले जनतासँग मत लिन तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

नेमकिपाले निर्वाचनलाई उपयुक्त विकल्प भनेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको समर्थनको नगरेको सङ्केत गर्दै उहाँले नेमकिपाले निर्वाचनको विरोध र स्वीकारको सर्त आफ्नो दल सरकारमा सहभागी हुने वा नहुने भन्ने दृष्टिले हेर्दैन भन्नुभयो । बरु निर्वाचनलाई पनि एक वर्गीय र राजनैतिक सङ्घर्ष तथा आन्दोलनको रूपमा हेरेको बिजुक्छेले बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले सरकार र प्रमुख प्रतिपक्ष दल कांग्रेस लगायत माओवादी केन्द्र र एमालेबाट छुटेका माधव नेपाल –झलनाथ खनाल गुटले पनि कोरोनाको कहरमा आ–आफ्नो ठाउँबाट देश र जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी अध्यक्ष बिजुक्छेले देशको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाउने कदमको नेमकिपाले विगतदेखि नै पनि सङ्घर्ष गर्दै आएको बताउनुभयो । अध्यक्ष बिजुक्छेले त्यो सङ्घर्ष आगामी दिनमा पनि जारी रहने बताउनुभएको छ ।

उहाँले भारतीय एकाधिकार पुँजी एक एक पाइला गरेर नेपालमा नेपालीभन्दा विदेशी नागरिक बढाउने उद्देश्य पूरा गर्ने बाटोमा रहेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले नेपाली कांग्रेस , एमाले र माओवादी केन्द्रका नाम र रङ फरक भए पनि यी सबै दल वर्गीय रूपमा पुँजीवादी राजनीतिक दल नै भएको दाबी गर्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button