तपाईँ सुन्दै हुनुहुन्छः

२५ सय ६५ औँ बुद्ध जयन्तीमा २५ सय ६५ वटा दीप प्रज्वलन हुने 

भैरहवा । बुद्ध जयन्ती यस बर्ष पनि बन्दाबन्दी (लकडाउन) को कारण प्रभावित हुने भएको छ । सधैँ भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्ध जयन्ती यस बर्ष २५६५ वटा दीप प्रज्वलन गरेर परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने भएको हो । गत बर्ष पनि बन्दाबन्दीको कारण बुद्ध जयन्ती पूजापाठमा सीमित भएको थियो ।
यही जेठ १२ गते परेको २५६५ औँ बुद्ध जयन्तीमा विगतका वर्षमा जस्तो हुनेछैन । विगतमा  राष्ट्रप्रमुख विदेशी कूटनीतिज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना सङ्क्रमणको कारण यस बर्ष औपचारिक कार्यक्रम नहुने भएको हो । बन्दाबन्दीको कारण गत बर्ष पनि पूजा पाठ र सामान्य कार्यक्रम गरेर मनाइएको बुद्ध जयन्ती यस बर्ष पनि पूजा पाठ, दीप प्रज्वलन गरेर सामान्य रुपमा मनाउने तयारी गरेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।
सदस्यसचिव शाक्यले भन्नुभयो,‘२५६५ औँ बुद्ध जयन्ती जेष्ठ १२ गते परेको छ । विगतका वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर मनाइएको थियो भने गएको सालदेखि कोरोनाको कारण राम्ररी मनाउन पाइएको छैन । यस बर्ष पनि हामीले राम्रोसँग मनाउने तयारी थियो, तर कोरोना भाइरसको दोस्रो लहर देखिएपछि निषेधाज्ञाको बीच बुद्ध जयन्ती सामान्य रुपमा मनाउनुपर्ने अवस्था सृजना भएको छ ।
बुद्ध जयन्तीको दिन बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुने गरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा सम्माननीय राष्ट्रप्रमुख, प्रधानमन्त्रीको सन्देश वाचन गर्ने र पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र साँझ कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यको भनाई छ ।
शाक्यले भन्नुभयो, ‘कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको निर्वाणाप्राप्ती होस् भनेर २५६५ वटा दीप प्रज्वलन गर्नेछौँ  र सङ्क्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पूजापाठ हुन्छ ।
बुद्ध धर्ममा वैशाख पूर्णिमाको महत्त्व अत्यन्तै धेरै रहेको छ । वैशाख पूर्णिमामा त्रिसंयोग परेको देखिन्छ ।  सिद्धार्थ गौतम बुद्धको जन्म वैशाख पूर्णिमाकै दिन भएको थियो । उहाँले बुद्धत्व प्राप्त गरेको दिन पनि वैशाख पूर्णिमाकै दिन थियो । यसै गरी बुद्ध ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको दिन पनि वैशाख पूर्णिमाकै दिन थियो ।
नेपाल लगायत बौद्ध राष्ट्रहरू भुटान, थाइल्यान्ड, म्यानमार, मङ्गोलिया, कम्बोडिया, श्रीलङ्का, लाओस् , कोरिया, जापान, चीन आदि देशहरूमा वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीलाई विशेष राजकीय सम्मानका साथ मनाउने गरिन्छ ।
आजभन्दा २५६५ वर्षअघि हालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । उहाँ जन्मिएको प्रमाणको रुपमा प्रसिद्ध मौर्य सम्राट् अशोकले आफ्ना आध्यात्मिक गुरु उपगुप्ताको मार्ग दर्शनमा ईसा पूर्व २४९ मा लुम्बिनीको भ्रमण गर्दै “हिद बुधे जाते शाक्यमुनिति” अर्थात् यहाँ शाक्यमुनि बुद्ध जन्मिनु भएको थियो भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई अशोका स्तम्भ भनिन्छ । उक्त स्तम्भ मायादेवी मन्दिरको पश्चिमपट्टि रहेको छ । सोही स्तम्भमा सन् १३१२ मा कर्णालीका राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन “ओम् मणि पद्मे हुम रिपु मल्ल चिरं जयतु” लेखेका छन् । बुद्ध जन्मिँदा बित्तिकै सात पाइला हिँडेको बौद्ध धर्म दर्शनमा उल्लेख छ । उनी हिँडेको भनेर मायादेवी मन्दिर परिसरमा जन्म स्मारक शिला पनि राखिएको छ। उक्त शिला सन् १९९६ मा पत्ता लागेको बताइन्छ ।
कपिलवस्तुका शाक्यमुनि राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थले २९ वर्षको उमेरमा दरबार छोडी निस्कनुभएको थियो । पछि वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्नुभयो । ८० वर्षको उमेरमा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो ।
विश्वमा बुद्धलाई कसैले भगवान्, कसैले महामानव, कसैले शान्तिका दूत त कसैले एसियाका तारा भनेर मान्ने गर्दछन् । बुद्ध बचनलाई अहिले पनि उत्तिकै महत्त्व दिने गरिएको छ । नेपालमा वि.सं २००८ देखि बुद्ध जयन्तीको दिन सार्वजनिक बिदा दिन थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button