तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमै पहिलो ‘ट्राफिक लाइट’ जडान

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ ।
मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकै पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मङ्गलापुरमा रहेको ट्राफिक प्रहरी पोस्टबाट हुने नगरपालिकाले जनाएको छ ।
ट्राफिक लाइटको मङ्गलवार शुभारम्भ गर्दै नगर प्रमुख वासुदेव घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सिक्सलेन सडकका अन्य चोकहरूमा समेत विस्तार गरिने बताउनुभयो ।
यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरूको लागि पनि अनुकरणीय रहेको बताउनुभयो । ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमै नयाँ सन्देश दिएको बताउँदै उहाँले यो दुर्घटना न्यूनीकरणको लागि कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्‍याउने बताउनुभयो ।
नगर उपप्रमुख जागेश्वरी चौधरीले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button