तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा १ सय ४ संक्रमित थपिदा १ सय ५१ डिस्चार्ज 

सल्यान । सल्यानमा दोस्रो लहरका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्यामा वृद्धि आउन थालेको छ । मङ्गलवार १ सय ४ संक्रमित थपिदा १ सय ५१ डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार २ सय ३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ४ जनाको कोरोना पोजेटिभ देखिएको छ । कुमाख गाउँपालिकाका ४४ महिला र ४९ पुरुष, बागचौर नगरपालिकाका ३ महिला, १ पुरुष, शारदा नगरपालिका र सल्यान अस्पतालका २ महिला र ५ पुरुषमा पोजेटिभ देखिएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए ।
मङ्गलवार कोरोना निको भएर १ सय ५१ जना डिस्चार्ज भएको उनको भनाई छ । उनका अनुसार वैशाखदेखि हालसम्म पिसिआर परीक्षण गर्दा ५ सय ६३ र एन्टीजेन परीक्षणबाट ९ सय ५० जना कोरोना संक्रमित फेला परेका छन् ।
मङ्गलवारसम्म ७ सय ४९ सक्रिय संक्रमित रहेका छन् । जसमा २० सल्यान जिल्ला अस्पताल, ३३ संस्थागत आइसोलेसन र ६ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् । वैशाखदेखि हालसम्म ७ सय ३३ जना कोरोना निको भएर डिस्चार्ज भइसकेको डिसीको भनाई छ ।
कार्यालयका अनुसार गत २४ घण्टामा १ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ३७ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button