तपाईँ सुन्दै हुनुहुन्छः

सात वर्षमा पक्की पुल बन्यो, अझै सञ्चालनमा आएन

काठमाडौँ ।  नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले  हैरानी एवम् सास्ती झेल्नु परेको छ ।
सडक विभागले धादिङ तर्फका फोस्रे टारमा करिब १५ मिटरको एप्रोज सडकको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका(तारुका) का बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् ।
सो पुल धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका –५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही जेठ ७ गते जारी पत्रअनुसार फोस्रे टार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अवरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको हो ।
ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्त्वपूर्ण मानिएको छ । केउरिनी– फोस्रे टार–आँप चौर –सुनौला बजार –धादिङबेशी  सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मिटर छ ।
निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन  नीलकण्ठ ५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै सुरुआत  गरेका छन् ।
पूर्व सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका,  गल्छी गाउँपालिका र विभागलाई छिटो भन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियानकर्मीले माग गरेका छन् ।
एप्रोज सडकको ट्र्याक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परेमा मुआब्जा दिन र  छिटो विवाद अन्त्य गर्न समेत अभियानकर्मी ती निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
कार्यालयका इन्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ,नीलकण्ठ नगरपालिका र  गल्छी गाउँपालिकालाई एप्रोज सडकको ट्र्याक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिनुभयो  ।
उहाँले ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिएमा छिटो भन्दा छिटो  एप्रोज सडकको ट्र्याक खुलाइ पुल सञ्चालनमा आउने जानकारी दिनुभयो ।
पुल बन्न सात वर्ष लाग्यो 
चार वर्षमा बन्नुपर्ने पुल सात वर्षमा बल्ल सम्पन्न भएको थियो । २०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्स्ट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो ।  १९२ मिटर लामो पुलको निर्माण गर्न करिब सात वर्ष लागेको थियो ।
सो पुल सञ्चालनमा आएमा गल्छीदेखि  केउरिनी– फोस्रे टार–आँप चौर –सुनौला बजार –धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ  ।
साथै नुवाकोटको तारुका जान समेत पनि सो बाटो सहज हुन्छ  । एक अभियानकर्मी भन्नुहुन्छ “ पुल सञ्चालन गर्न हामीले धेरै कोसिस गर्‍यौ । अनुनय विनय गर्यौँ ।  पक्की पुल भनेर के गर्नु ? उपयोग गर्न नपाएपछि । बिरामीलाई अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाउनु परेको छ ।”
सो ठेकेदार कम्पनीले नुवाकोटतर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बाटो खुलाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको समस्यालाई समाधान गर्न पहल भइरहेको छ ।  समाधान निस्कन्छ । अगामी दिनमा केउरिनी– फोस्रे टार–आँप चौर –सुनौला बजार –धादिङबेशी सडकको स्तरोन्नतिमा थप बजेट निकासा गर्ने योजना छ । ”
फोस्रे टार–आँप चौर –सुनौला बजार –धादिङबेशी सडकको ट्र्याक खुलाउन सुरुआतका समयमा रोड बोर्ड नेपालले आर्थिक सहयोग गरेको थियो ।
यस कार्यमा बोर्डका तत्कालीन इन्जिनियर मुरलीगोपाल रञ्जितकार र नीलकण्ठ –५ का समाजसेवी एवम् राजनीतिज्ञ रामहरि शर्मा नेपालको अथक योगदान  छ ।
उहाँले भन्नुभयो,“ अब सडक कालोपत्रे गर्न  सबै जुट्नुपर्छ । यसका लागि सहयोग र सहकार्य आवश्यक छ  । ”  गल्छी गाउँपालिकाकाले सडक विभागको कमजोरीले गर्दा समस्या आएतापनि बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button