तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा एक चिकित्सकसहित तीन जना कोरोना सङ्क्रमितको मृत्यु 

बीरगंज । बीरगंजमा आज थप एक जना  चिकित्सकसहित तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बीरगंज हेल्थ केयर अस्पतालमा आज बिहान कोरोना सङ्क्रमणबाट एक जना चिकित्सकको मृत्यु भएको हो ।
विगत १५ वर्षदेखि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा कार्यरत भई एक वर्षयता रौतहटको गौरमा क्लिनिक खोलेर बिरामीको उपचारमा क्रियाशील रहनु भएका रौतहटको राजपुर फरहदवा वडा नम्बर ४ निवासी डा. समिम अख्तरको कोरोना सङ्क्रमणको कारण आज बिहान उपचारको क्रममा मृत्यु भएको बीरगंज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिनुभयो ।
विगत ४ दिनदेखि बीरगंज हेल्थ केयरमा डा. समिम अख्तरको भेन्टिलेटरमा राखी उपचार भइराखेको थियो ।
यसअघि बीरगंज हेल्थ केयर कै चिकित्सक मुराद हुसैनको कोरोना सङ्क्रमणको कारण दुई दिन अगाडी मृत्यु भएको थियो ।
हाल बीरगंजमा रहेका कोभिड अस्पताल र अन्य अस्पतालहरूमा समेत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेपछि सङ्क्रमितहरूको उपचारमा समेत समस्या हुने देखिएको छ ।
यसैबीच बीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत पर्साको बहुअर्वाभाठा २ निवासी ४५ वर्षिया महिलाको उपचारको क्रममा आज बिहान ९ः१५ बजे मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएर वैशाख २५ गते अस्पताल भएकी महिलालाई पिसिआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना पुष्टि भएको र उनको उच्च निमोनियाका कारण उपचारको क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
यसै गरी पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ निवासी ५० वर्षीया महिलाको उपचारको क्रममा आज बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएर ज्येष्ठ ९ गते अस्पताल भर्ना भएकी महिलालाई भोलिपल्ट पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको  र आज बिहान ८ बजे उनको उपचारको क्रममा निधन भएको डा. दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button