तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ कम्युनिष्ट पार्टीले नेपाललाई स्वास्थ्य सामाग्री प्रदान गरेको घोषणा 

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सदियौँदेखिको नेपाल चीन सम्बन्ध मजबुत र विश्वासिलो रहेको बताउनुभएको छ ।
चीनमा कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट विदेश विभाग प्रमुख सोङ ताओले भर्चुअल माध्यमबाट आयोजना गर्नुभएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाल सधैँ एक चीन नीतिमा दृढ रहेको बताउनुभयो ।
उहाँले नेपालको विषम परिस्थितिमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको भन्नुहुँदै कोभिड–१९ मा र नेपालको विकासमा चीनको सहयोग सधैँ रहेको बताउनुभयो ।
यसै गरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कोभिड–१९ जस्तो महामारीमा चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री र अनुदानमा उपलब्ध गराएको खोप प्रति नेपालले सधैँ चीनलाई सम्झने भन्नुहुँदै अन्य नेपाली नागरिक त्यस्तै खोपको प्रतीक्षामा रहेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल को आकाङ्क्षा पुरा गर्न विआरआई कोषे ढुङ्गा साबित हुने बताउनुभयो ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, नेपाली काँग्रेसका डा. नारायण खड्का, राजपाका नेता उपेन्द्र यादवले चीनले गरेको विकास, समृद्धि र महामारीका समयका साथै अन्य समयमा पनि चीनले नेपाललाई गरेको सहयोग अविस्मरणीय रहेको बताउनुभयो ।
भर्चुअल बैठकको शुभारम्भ गर्नुहुँदै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख साङ ताओले विकास उन्मुख देशलाई सहयोग गर्ने रणनीति अनुरूप नेपाललाई उच्च सम्मानका साथ चीन सरकारले जेनेरेटर, अक्सिजन, भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको बताउनुभयो ।
उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको नेतृत्वले चीनमा गरिबी निवारणको अन्त्य भइसकेको भन्नुहुँदै दुई देश बीचको आपसी विश्वासलाई मजबुत बनाउँदै हालैको महामारी समस्या समाधानमा चीन सरकार नेपाललाई सहयोग गर्न सधैँ अग्रस्थानमा रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button