तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा निषेधाज्ञा जेठ २०  गतेसम्म थपियो 

धनगढी  । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा जारी निषेधाज्ञा अवधि यही जेठ २० गतेसम्म थप गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आज जारी गरेको आदेशमा निषेधाज्ञा अवधिलाई जेठ  २० गतेसम्म निरन्तरता दिइएको उल्लेख छ ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय सिफारिसका आधारमा निषेधाज्ञा अवधि थप गरिएको र निषेधाज्ञा उल्लिन गर्नेलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही र सजाए हुनेछ, आदेशमा भनिएको छ ।
आदेशमा अत्यावश्यक उपभोग्य सामाग्रीको कृत्रिम अभाव गरी मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध सृजना गर्नेमाथि कडा कारबाही गरिने उल्लेख गरिएको छ ।
यसै गरी अत्यावश्यक सामान ढुवानी गरेका साधन ब्यानर टाँगेर सञ्चालन गर्न सकिने तथा निर्माण सामाग्री बोकेका साधनहरू राती ८ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने र यसअघि जारी गरेका सबै पास रद्द गरिएको जनाइएको छ  । साथै विवाह, वर्तबन्धकाे हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा सात जना सहभागी हुन पाउने आदेशमा भनिएको छ ।
कैलालीमा पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि जेठ १३ गते ( भोलिसम्म) निषेधाज्ञा जारी गरेको स्थानीय प्रशासनले पछिल्लो समय जेठ १४ देखि २० गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमण दर उच्च रहेको कैलालीमा हालसम्म करिब ४ हजार कोरोना संक्रमित रहेको र  कोरोना सङ्क्रमणबाट हालसम्म २ सय ७८ जनाको निधन भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको तथ्यांक  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button