तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता वितरण सम्बन्धी भ्रामक टिप्पणी भएकोमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण 

बीरगंज ।  जिल्ला प्रशासन कार्यालय पर्साले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस कार्यालयको नाम जोडेर हालै सामाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएर भएका पोष्ट र आएका समाचारहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र सङ्क्रमणको शृङ्खला तोड्न वैशाख १६ गतेदेखि नै पर्सा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको छ । निषेध आदेश हालसम्म जारी रहेको कुरा उल्लेख गरिएको छ ।

निषेधाज्ञा जारी भएको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रणसँग सम्बन्धित कार्य एवम् अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एवं नभएको ब्यहोरा स्पष्ट पारिन्छ ।’ विज्ञप्ति भनिएको छ ।

निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो फुटेज पुरानो रहेको उल्लेख गर्दै ‘सामाजिक सञ्जालमा भएका पोष्ट एवम् आएका समाचारहरू आधारहीन, सत्य र कपोलकल्पित भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा अहिले स्थानीय प्रशासनको ध्यान केवल कोभिड संक्रमण नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनमा केन्द्रित भएको कुरा उल्लेख गरिएको छ ।

राष्ट्रप्रति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धि अध्यादेश जारी गरेपछि पूर्व मन्त्रीसमेत रहेका नेकपा एमालेका नेता भीम रावलले वीरगञ्जमा नागरिकता लिन भिड लागेको र भारतीयसमेत आएको भनेर भ्रामक ट्विट गर्नुभएको थियो ।

नेता रावलले एउटा पुरानो भिडियोको आधारमा उक्त ट्विट गर्नुभएको र सामाजिक सञ्जालमा त्यसको चर्को बिरोध भएपछि रावलले ट्विट हटाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button