तपाईँ सुन्दै हुनुहुन्छः

तेल ट्याङ्करबाट २ सय १८ किलो लागु औषध गाँजा बरामद

बारा । बारा प्रहरीले पथलैया चोकस्थित तेल ट्याङ्करबाट आज २ सय १८ किलो लागु औषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक अजय रामको कमाण्डमा गएको प्रहरीको टोलीले तेल ट्याङ्करको चेम्बरबाट  गाँजा अनलोड गरिरहेको अवस्थामा १९ पोकामा राखिएको करिब २ सय १८ किलो गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ । प्रहरीले  ट्याङ्करका चालक र सहचालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।
ना ४ ख २९७९ नम्बरको खाली ट्याङ्करबाट मोहम्मद आलमले सञ्चालन गरेको रामरहिम मोटर ग्यारेजमा गाँजा राख्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नं.८ बस्ने बर्ष ३४ का घनश्याम गिरी र सहचालक जिल्ला चितवन खैरनी नगरपालिका वडा नं.२ बस्ने बर्ष २२ का रामकुमारी दवाडी रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button