तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा कोरोना सङ्क्रमणको जोखिम मोल्दै रोपाई शुरु

डडेलधुरा । डडेलधुरामा कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका बेला किसानलाई भने रोपाइको चटारो लागेको छ । जिल्ला सदरमुकाम देखि ग्रामीण क्षेत्रमा कोरोना भाइरसको संक्रमण रहेको भए पनि सिञ्चित हुने अधिकांश क्षेत्रमा भने रोपाई चलेको छ । यस वर्ष नियमित रुपमा वर्षा हुँदा रोपाई गर्न सहज भएकाले जिल्लाका अधिकांश स्थानमा रोपाई शुरु भएको छ ।
रोपाइका लागि गाउँमा पर्म गर्नु पर्छ । साथै अर्को टोलबाट खेताला खोजेर रोपाइमा लगाइने गरेको थियो । यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण घरकै मानिस वा एउटै टोलका मानिसले मात्रै मिलेर रोपाई गरिरहेका छन् ।
जिल्लाका गाउँ गाउँमा कोरोना भाइरसको संक्रमण हुँदा घरकै सीमित मानिस मात्रै रोपाई गरिरहेका छन् । भारतका साथै देशका अन्य स्थानबाट युवाहरू घर फर्किएको हुँदा रोपाई गर्न खेताला खोज्नु नपरेको किसानहरूले बताएका छन् ।
डडेलधुरामा ६ हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ । कोरोना सङ्क्रमणको त्रास रहेकाले रोपाइमा बढी भिडभाड नगरी स्वास्थ्यका मापदण्डलाई ध्यानमा राखेर काम गरिरहेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलसिह मल्लले जानकारी दिनुभयो ।
वर्षा हुँदा पनि रोपाई गरिएन भने पछि पानी पर्छ की पर्दैन भन्दै किसानहरू हतारिएका हुन अध्यक्ष मल्लले भने कोरोना सावधानी अपनाएर रोपाई गर्दा केही फरक नपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button