तपाईँ सुन्दै हुनुहुन्छः

निजी क्षेत्रको लगानीमा १ सय १० दिनमा बनेको स्वास्थ्य चौकी गाउँपालिकालाई हस्तान्तरण

रुपन्देही । ७० लाख लगानी गरेर अर्घाखाँची सिमेन्ट प्रालिले रुपन्देहीको सियारी गाउँपालिका–२, मैनहियामा स्वास्थ्य चौकी निर्माण गरेको छ । बुधवार उक्त स्वास्थ्य चौकी उद्योगले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले महामारीका बिच निर्माण गरिएको स्वास्थ्य चौकीमा धेरैले उपचार पाउने विश्वास व्यक्त गर्नुभयो ।

कोरोना महामारीकै बिच पनि उद्योगले छोटो समयमै स्वास्थ्य चौकी निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त स्वास्थ्य चौकी ११० दिनमै तयार भएको उद्योगले जनाएको छ । यसलाई तत्काल सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य चौकी उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठले निजी क्षेत्रसँगको सहकार्यमा कोरोना महामारीलाई जित्न सफल हुने विश्वास गर्नुभयो ।

एक तल्लाको उक्त स्वास्थ्य चौकीमा ६ वटा कोठा, ट्वाइलेट, बाथरुम छन् । उद्योगले स्वास्थ्य चौकीमा तत्काललाई १० बेड र १० वटा अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराएको छ । यहाँ १५ बेडसम्म राखेर बिरामीको उपचार गर्न मिल्ने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य चौकी भूकम्परहित छ । स्वास्थ्य चौकी बनाउन गाउँपालिकाले उद्योगलाई डिजाइन बनाएर उपलब्ध गराएको थियो ।

उद्योगले यसअघि सियारीकै भगदरीमा ४ कोठा र सेमरामा ६ कोठाको दुई वटा विद्यालय बनाइदिएको थियो । अघिल्लो वर्ष कोरोना महामारीका बेला प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा समेत ५१ लाख रुपैयाँ सहयोग गरेको थियो । यसपल्ट देशभर गरी दुई लाख एन ९५ माक्स वितरण गरिएको उद्योगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button