तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङमा शुक्रवारदेखि  निषेधाज्ञालाई थप कडाइ गरिँदै, बैक तथा वित्तीय संस्था दुई दिन मात्रै खुल्ने

लमजुङ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै लमजुङमा जारी निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । कडाइ गरेसँगै बैङ्क तथा वित्तीय सँस्थाहरु पनि आंशिक बन्द हुने भएका छन् । नयाँ भेरियन्ट सहितको कोभिड १९ कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिँदै जिल्ला जिल्लाका बैक तथा वित्तीय संस्थाहरू हप्तामा दुई दिन मात्रै खोल्ने निर्णय भएको हो ।
जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को मङ्गलवार बसेको बैठकले हप्तामा आइतबार र बिहीबार मात्रै बैक तथा वित्तीय संस्था खुल्ला गर्ने र त्यो बाहेकका दिनहरू सेवा प्रवाह बन्द गराउने निर्णय गरेको हो ।
जिल्ला भित्र कोभिड संक्रमण व्यापक रूपले फैलिँदै गइरहेकोले मानिसहरूको आवतजावतलाई नियन्त्रण गर्न बैङ्क, वित्तीय संस्था र सहकारी संस्थाहरू दुवै दिन १० बजे देखि १२ बजेसम्म मात्रै खुल्ला राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
त्योसँगै डिसिसिएमसी बैठकले ढुवानीका साधनहरूलाई पनि समय तालिका निर्धारण गरेको छ । बैठकले जिल्ला भित्र सञ्चालन हुने ढुवानीका सवारी साधनलाई बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्म मात्रै आवतजावत गर्न दिने र जिल्ला बाहिरबाट आउने ढुवानीका सवारी साधनलाई बेलुका ७ बजे देखि बिहान ६ बजेसम्म मात्र आवतजावत गर्न दिने निर्णय भएको प्रजिअ लुइँटेलले बताउनुभयो ।
यसअघि पनि डिसिसिएमसी बैठकले जिल्लामा हुनसक्ने सङ्क्रमणलाई रोक्न वैशाख २७ गते देखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा दुई चरण सम्म थप गरी २० गतेसम्म थप भएको छ । कोभिड–१९ को सङ्क्रमणलाई  रोकथाम तथा नियन्त्रण गर्नका लागि यसअघि जारी गरिएका आदेशका अतिरिक्त मिति १३ गतेबाट लागू हुने गरी थप आदेश जारी गरेको हो ।
प्रशासनले जारी गरेको आदेशहरूको अवज्ञा गरे÷गराइएको पाइएमा सङ्क्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ एवं कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने समेत प्रशासनले जनाएको छ ।
विश्वव्यापी कोरोना भाइरस संक्रमण रोकथामका लागि मङ्गलवारदेखि प्रशासनले थप कडाइ गरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिक स्तरबाट लापरबाही बढेको भन्दै थप कडाइ गरेको हो ।
प्रशासनले निषेधाज्ञाका पालना नगर्नेलाई हालै जारी कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button