तपाईँ सुन्दै हुनुहुन्छः

भिडभाड हुने कार्यक्रम नै सङ्क्रमणको मुख्य कारण

तस्बिर : चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशाला ।

दोलखा। दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचका एक युवकको विवाह गरेको २२ दिनपछि कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । दोलखामा लक डाउन हुनु अघि वैशाख १७ गते विवाह गरेका ती युवकमा केही दिन पछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको विवाहमा सहभागी अन्य केहीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भीमेश्वर नगरपालिकाकै वडा नम्बर १ सुष्पामा पनि विवाह कार्यक्रममा सहभागी भएका एक जनाको मृत्यु भएको छ भने २१ जना संक्रमित भएका छन् । विवाह कार्यक्रममा सहभागी ३३ जनाको पिसिआर परिक्षण गर्दा २१ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरे र वडा नम्बर ५ लापिलाङमा पनि विवाह कार्यक्रममा सहभागी भएका ६० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील श्रेष्ठका अनुसार लापिलाङमा भीमेश्वर नगरपालिका वडा नम्बर १ को सुष्पाबाट बैशाख २४ गते विवाह लगिएको थियो । लापिलाङ र बाबरेमा वैशाख २४ र २५ गते भएको विवाह कार्यक्रमका सहभागीहरू मध्यका ६० जना भन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठको भनाई छ ।

तामाकोसी गाउँपालिका वडा नम्बर ५ सहरेमा एक सय चार जान कोरोना संक्रमित भएका छन् । मेलुङको वडा नम्बर १ पवटी र वडा नम्बर ७ मेलुङमा मात्र ३२ जना भन्दा बढी संक्रमित भएका छन् । त्यसैगरी जिरी नगरपालिका वडा नम्बर ६ यार्सामा ३१ जना, बैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपामा ५९ जना, गौरीशङ्कर गाउँपालिका वडा नम्बर १ र २ जुँगुमा २८ जना संक्रमित भएका छन् । त्यस्तै भीमेश्वर नगरपालिका वडा नम्बर ४ स्थित सर्व मावि जिलुको भवन निर्माणका मजदुरहरू ४८ जना संक्रमित भएका छन् ।

जिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव दहाल ठुलो समूहमा संक्रमित देखिएको ठाउँमा सङ्क्रमणको मुख्य कारण मानिसहरूको धेरै जमघट हुने विवाह, पूजा, घेवा, खेलकुद जस्ता कार्यक्रम नै हुने गरेको बताउनु हुन्छ ।

स्वास्थ्य कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्क अनुसार जिल्लामा बुधवारसम्म कोरोना भाईरस (कोभिड १९) को दोस्रो भेरियन्टबाट ११ सय १३ जना संक्रमित भएका छन् । यसरी संक्रमित हुने अधिकांशले आफूहरू विवाह, पूजा, खेलकुद, घेवा जस्ता कार्यक्रममा सहभागी भएको जानकारी दिएकोले दोलखामा संक्रमण फैलनुको मुख्य कारण मानिसहरू धेरै जमघट हुने विवाह, व्रतबन्ध, पूजा, खेलकुद, घेवा जस्ता कार्यक्रम नै देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेल बताउनु हुन्छ । जिल्लामा अहिले पनि कोरोना भाइरसको दोस्रो भेरियन्टका सात सय ८८ जना सक्रिय संक्रमित रहेका छन् । सङ्क्रमणकै कारण दोलखामा बुधवारसम्म आठ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे जिल्लामा काठमाडौँमा लकडाउन भएको एक हप्ता पछि वैशाख २२ गतेबाट मात्र लक डाउन गरिएकोले राजधानी लगायतका ठाउँबाट धेरै मानिस घर फर्किएको र उनीहरू घरमा सुरक्षित नबसिदिएको कारण संक्रमण धेरै फैलिएको बताउनु हुन्छ ।

दोलखामा लक डाउन पछि पनि वैशाख महिना भरी स्वास्थ्य सुरक्षा पालना गरेर विवाह, व्रतबन्ध, घेवा जस्ता सामाजिक कार्यक्रम गर्न छुट दिइएकोले पनि संक्रमण धेरै फैलन पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनु हुन्छ । जेठ १ गतेबाट भने काठमाडौँबाट आउनेहरूलाई पनि अनिवार्य क्वारिन्टिनमा राखिएको र विवाह, व्रतबन्ध, घेवा जस्ता सामाजिक कार्यक्रमहरू समेत पूर्ण रुपमा बन्द गरिएकोले संक्रमण दर घट्दै गएको घिमिरेको भनाई छ । अहिले देखिएका अधिकांश संक्रमितहरु जेठ १ गते अघि नै संक्रमित भई सकेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button