तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षण पेसासँगै कृषि कर्ममा जुटेका बुढाथोकी 

सल्यान । ढल्किँदो उमेरसँगको बढ्दो जाँगर । कर्मप्रतिको आफ्नै मोह ।  सल्यान सिद्ध कुमाख गाउँपालिकाका–१ पटारेका लैन बहादुर बुढाथोकीको मुख्य पेसा हो शिक्षण ।
उनी पटारेमै रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयका शिक्षक हुन । विद्यालयमा जाने विद्यार्थीलाई पढाउने बुढाथोकीको कर्म नै हो । तर उनी यतिमा सीमित छैनन् । दिनभर शिक्षण पेसामा व्यस्त रहने उनी बिहान बेलुका बचेको समय तरकारी खेतीमा व्यस्त हुने गर्दछन् ।
आजभोलि कोरोनाले विद्यालय बन्द हुँदा बिहानदेखि साँझसम्म तरकारी बारीमा उनी व्यस्त हुने गरेका छन् ।
३ रोपनीमा टनेल र खुला स्थानमा ४ रोपनी  गरी ७ रोपनीमा तरकारी खेती गर्दै आएको बुढाथोकीले बताए । ‘शिक्षण पेसासँगै कृषिमा र रमाउन पाउँदा खुसी नै बेग्लै हुन्छ । शिक्षण गर्नुभन्दा पहिले पनि कृषि गर्दै आइरहेको थिए ।’
कुनै पनि काम सानो ठुलो नहुने बताउँदै उनले तरकारी खेतीबाट नै वार्षिक ४ र ५ लाखसम्म आम्दानी हुँदै आइरहेको बताए । मेहनत गरे परिश्रमको मूल्य पाउन सकिने उनको भनाई छ । उनले भने ‘कोरोना भाइरसका कारण आजभोलि विद्यालय बन्द छन् । विद्यालय बन्द भएको समयमा दिनभर नै बारीमै व्यस्त हुने गरेको छु ।’
मौसमी तरकारीभन्दा बेमौसमी तरकारीले बजार मूल्य राम्रो पाउने भएकाले झन्डै ८ लाख लगानी गरेर तीन रोपनीमा प्लास्टिक घर निमार्ण गरेको शिक्षक बुढाथोकीले बताए ।
मौसममा धेरैसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सस्तो मूल्यमा बिक्री गर्नु पर्ने हुन्छ तर बेमौसमीमा सीमित किसानले मात्र तरकारी उत्पादन गर्ने भएकाले आफूले पनि बेमौसमी तरकारी खेतीलाई जोड दिँदै आइरहेको उनको भनाई छ ।
‘तरकारी बजारीकरणका लागि खासै समस्या नभए पनि अहिले बन्दाबन्दीका कारण सिजनका तरकारी निर्यातमा समस्या भएको छ’ उनले भने । बेमौसमी तरकारीका लागि भने कुनै समस्या नरहेको बुढाथोकीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button