तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमित पहिचान गर्न घरघरमा स्वास्थ्यकर्मी परिचालन

तनहुँ ।  कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएर घरमै बसेकाहरूलाई मध्यनजर गर्दै शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ले वडामा रहेका स्वास्थ्यकर्मीलाई परिचालन गरेको छ ।
लक्षण देखिएता पनि विभिन्न कारण परिक्षण नगरेकाहरूलाई स्वास्थ्यकर्मीहरूको टोलीले आवश्यक परामर्श  दिएर पिसिआर परिक्षण गराउने भएका छन् ।
स्वास्थ्य सेवा सम्बन्धित विभिन्न विषयमा अध्ययन पुरा गरेका तथा अध्ययनरत जनशक्तिको परिचालन गरी कोरोना सङ्क्रमितलाई उपचार र परामर्श दिने वडाले लक्ष्य लिएको छ ।
वडाले १८ जना स्वास्थ्यकर्मीलाई स्वयंसेवकको रुपमा घरघरमा गएर वडावासीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने जिम्मेवारी दिएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
“वडामा बसोबास गर्ने उनीहरूलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएर, घरघरमा पठाएका हौंं”, उहाँले भन्नुभयो,“संक्रमित वडावासीहरूको स्वास्थ्य परिक्षण साथै कोभिडसँग मिल्दो कुनै लक्षण भएमा उनीहरूले परीक्षणको लागि सिफारिस गर्नेछन् ।”
यसअघि स्वास्थ्य शाखाका कर्मचारी नवराज गौतम, दिनेश थपलिया र सन्देश थापाले उनीहरूलाई १ दिने प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
यसैबीच अभियानलाई सफल पार्न नर्स मनिशा ढकाल लम्सालको संयोजकत्वमा  १८ सदस्यीय आपतकालिन स्वास्थ्य स्वयंसेवक  समेत गठन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button