तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुनसरीबाट सिन्धुपाल्चोकलाई अक्सिजन आउँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका पूर्व प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको समन्वयमा सुनसरीबाट सिन्धुपाल्चोकलाई अक्सिजन सिलिन्डर आउने भएको छ ।
छिमेकी जिल्लाहरूमा अक्सिजन भर्न समस्या भएपछि यसअघि सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी भएर बस्नुभएका र हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको समन्वयमा सुनसरी पुगेर अक्सिजन भर्न लागेको नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो।
सिन्धुपाल्चोकमा अक्सिजन अभाव भएको थाहा पाएपछि आफूले समन्वय गरेर सुनसरीबाट अक्सिजन भरेर पठाउन लागेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
अब यो सिलिण्डर सिन्धुपाल्चोकमा आएपछि कम्तीमा १० दिनको लागि अक्सिजन समस्या नहुने स्वास्थ्य  कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाईँले जानकारी दिनुभयो।
सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितहरू बढ्दै गएको र अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकले तत्कालको लागि १ सय ३७ सिलिण्डर अक्सिजन भरेर सबै आइसोलेसनहरूमा पठाउने भएको हो ।
आइसोलेसनमा अक्सिजन अभाव भएको र तीन दिन लाइन बस्दा पनि सहज रूपमा अक्सिजन उपलब्ध नभएपछि पत्रकार महासङ्घ सिन्धुपाल्चोकले एकै पटक ठुलो सङ्ख्यामा शिलिण्डर भरेर प्रदान गर्न लागेको हो।
कोरोना महामारी बढेपछि नेपाल पत्रकार महासङ्घले कोभिड-१९ राहत कोष स्थापना गरेको थियो । त्यही कोषबाट हाल १ सय ३७ शिलिण्डर अक्सिजन भरेर जिल्लामा ल्याउन लागेको उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।
महासङ्घले स्थापना गरेको कोषमा हालसम्म १३ लाख सङ्कलन भएको छ।
यसै गरी महासङ्घले स्थापना गरेको कोषबाट आइसोलेसनमा रहेका बिरामीहरूलाई अन्य स्वास्थ्य सामग्री र पोसिलो खानेकुरा समेत उपलब्ध गराउने महासङ्घका उपाध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button