तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित, आरोही उद्धारमा कठिनाइ

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा मङ्गलवारदेखि भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ ।
मौसममा खराबी आएसँगै बाक्लो हिउँ परेपछि आरोहीहरूको उद्धारमा समेत समस्या भएको हो ।
आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जना आरोहण स्थगित गरेर दोस्रो शिविरमा फर्किए पनि त्यहाँबाट उनीहरूलाई आधार शिविरसम्म झार्न समस्या भएको आधार शिविरबाट सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिनुभयो ।
अहिले तीन दर्जनभन्दा बढी आरोही र सहयोगी समेत गरी एक सय जनाभन्दा बढी दोस्रो आधार शिविरमा अड्किएका छन् ।
आरोहण सफल गरेर फर्किएका केही आरोहीहरू घाइते भएको र उनीहरूको उद्धारको लागि मौसम प्रतिकुलता कै कारणले हेलिकप्टर समेत पठाउन नसकिएको बताइएको छ ।
आधार शिविरबाट दोस्रो आधार शिविरमा रहेका सामान तल झार्नका लागि उच्च हिमाली कामदारहरू समेत उकालो जान नसकेको सम्पर्क अधिकृत गौतमको भनाई छ । अहिलेसम्म दुई सय बढीले यो सिजनमा आरोहण गरिसकेका छन् ।
यास चक्रवात उत्तर–उत्तर पश्चिम सर्ने क्रममा मङ्गलवारदेखि शक्तिशाली चक्रवातमा परिणत भएको र बुधवारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
यसैबिच, गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ ।
अबको तीन दिन बाढी पहिरो र उच्च वर्षाको साथै हिमपातको सम्भावना रहेकाले हिमाल आरोहणमा गएकाहरूलाई फिर्ता बोलाउन सरोकारवाला निकायसँग आग्रह गरेको हो ।
तस्बिर सौजन्य: खिमलाल गौतम 

प्रतिक्रिया राख्नुहोस्

Back to top button