तपाईँ सुन्दै हुनुहुन्छः

खेतको आलीमै पुगेर किसानलाई मास्क वितरण

जुम्ला । तातोपानी गाउँपालिका ५ का किसानलाई खेतका आलीमै पुगेर मास्क वितरण गरिएको छ । जेठ महिना लागेसँगै जुम्लामा निषेधाज्ञाका बिच पनि जौ काट्ने, मार्सी धान रोप्ने चटारो शुरु भएको छ । तर मार्सी धान रोप्दा अधिकांश किसानले मास्क नलगाएको पाइएपछि संक्रमण बढ्न सक्ने जोखिम न्यूनीकरण गर्न तातोपानी ५ की महिला नेतृ तथा समाजसेवी नारायणी चौलागाईको अगुवाइमा खेतमै पुगेर मास्क वितरण गरिएको हो ।
खेत खेतमा पुगेर किसानलाई मेडिकल मास्कसँगै स्वास्थ्य मापदण्ड पालना गर्न तथा अनिवार्य मास्क प्रयोग गर्न सम्झाइएको नेतृ चौलागाईले उल्लेख बताउनुभयो । उहाँका अनुसार पहिलो दिन किसान सर्वसाधारण गरी ५ सय वटा मास्क बाँडिएको छ ।
उहाँले भन्नुभयो,“तातोपानी गाउँपालिकाको आइसोलेसनमा बसेका ४ जना सङ्क्रमितलाई पोषिला आहार पनि दिएका छौ । भने, ५ नम्बर वडाका पूर्वमा नगर देखि पश्चिम एैरेनी सम्मका जौ काट्ने, मार्सी धान रोप्ने किसान, गाउँमा मास्क नलगाएर बसेकाहरू गरी करिब ५ सय वटा मास्क वितरण गरिएको हो ।”
किसानका खेत खेतमा मेडिकल मास्क अभियान अझै केही दिन जारी रहने र करिब ३ हजार मास्क सम्म किसानलाई वितरण गर्ने लक्ष्य राखिएको नेतृ चौलागाईको भनाई छ । कृषि कर्ममा जुट्दा किसानले मास्क नलगाउने गरेको भेटिएपछि जनचेतना सँगै अनिवार्य मास्क प्रयोग गरी काम गर्न समेत सम्झाइएको मास्क वितरण अभियानमा सहभागी युवा सूर्य डाँगीले बताउनुभयो ।
गाउँ गाउँमा निश्चित युवाहरूको समूह बनाएर मार्सी रोपिरहेका किसानलाई मास्क वितरण सँगै अनिवार्य मास्क प्रयोग गर्न सम्झाएमा उल्लेखनीय सुधार हुने विश्वास गरिएको छ । खेतमा काम गर्ने अधिकांश किसानले मास्क नलगाएको पाइएको छ ।
जुम्ला जिल्ला भरी जेठ महिना भरी मार्सी धान रोप्ने किसानको जमघट बढी नै हुने भएकोले किसानका खेत खेतमै मास्क अभियान जारी राख्नका लागि सहयोगी दातालाई समेत सहयोगको अपिल गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button