तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा १४ अर्ब ७६ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा हरेक दिन जसो नयाँ नयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार हालसम्मकै कारोबार रकम उच्च देखिएको छ । कारोबार मापक परिसूचक नेप्से १.२० अङ्कले घटेर दुई हजार ८१५.३९ मा ओर्लेको छ । यस्तै ठुला कम्पनीको कारोबारमा मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ ले घटेर ५०३.७० मा ओर्लेको छ ।
कूल २१५ कम्पनीको चार करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयर  रु १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पुँजीकरण रु ३९ खर्ब छ अर्ब ७६ करोड ८० लाख ४४ हजार ५२७ बराबर भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैङ्किङ ६.४६, होटल तथा पर्यटन १४.८३, अन्य २४.०२, लघुवित्त १९१.६९, जीवन बिमा १३६.३६ र लगानी ०.६७ बिन्दुले घटेको छ । यस्तै, व्यापार २८१.५३, विकास बैङ्क ११४.३३, जलविद्युत् १३१.७८, वित्त ३६.८१, निर्जीवन बिमा १४२.२९, उत्पादन ३२.६ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।
कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड २८ लाख ३४ हजार ४०१ बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर ३७ करोड ७४ लाख नौ हजार ८८८, चिलिमे जलविद्युत् कम्पनी रु ३७ करोड  तीन लाख ११ हजार ९९६, युनाइटेड मोदी रु ३५ करोड ५४ लाख ५८ हजार १२९ र नेपाल पुनःबीमा कम्पनी रु ३० करोड ५१ लाख ८५ हजार ७७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार खानी खोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रोका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, अरुण काबेली ९.९८ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए ।
यस्तै समता लघुवित्त ५.२३, मेरो माइक्रो फाइनान्स ५.०६, एनएमबी माइक्रो फाइनान्स ४.८४, एनआइसि एसिया लघुवित्त ४.८४ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.७३ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैङ्कको पछिल्लो निर्देशनका कारण लघुवित्त कम्पनीका शेयर भने आज ओरालो लागेको हो । केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई लघुवित्त कम्पनीको शेयर खरिदमा समय सीमा तोकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button