तपाईँ सुन्दै हुनुहुन्छः

तीन जना बालकको मृत्यु निसास्सिएर भएको अनुसन्धानको निष्कर्ष 

भैरहवा । दाङमा एउटै कारभित्र मृत भेटिएका तीन जना बालकको मृत्यु निसासिएर भएको अनुसन्धानले देखाएको छ ।
गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेटको कारभित्र तीन जना बालकको शव भेटिएको थियो ।
प्रहरीले बालकहरूको शव भेटिएपछि गरेको अनुसन्धान पुरा गरेको जनाएको छ भने घटनासँग सम्बन्धित व्यक्ति तथा अन्य प्रमाणसँगै भिसेरा रिपोर्टबाट पनि बालकहरूको मृत्यु निसासिएर भएको देखिएको छ ।
आर जे ०१ सिसि ०८८५ नं. को भारतीय नम्बरको कारभित्र तुलसीपुर ६ बरुवा गाउँका ९ वर्षीय सन्दीप परियार, ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र ६ वर्षीय करण परियार मृत भेटिएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले भिसेर रिपोर्ट र अरू अनुसन्धानको आधारमा पनि बालकहरूको मृत्यु कारभित्र निसास्सिएर भएको देखिएको बताउनुभयो।
बाल रोग  विशेषज्ञ डा. किशोर खत्रीले निसास्सिएर सहजै बालबालिकाको मृत्यु हुन सक्ने सम्भावना रहने बताउनुभयो। उक्त कार सञ्चालकका अनुसार त्यो कार गत माघ १ गतेदेखि पार्किङ गरेर राखिएको थियो ।
लामो समयदेखि पार्किङ गरिराखेको कारभित्र खेल्दै गएका बालकहरू प्रवेश गरेपछि बाहिर निस्किन नसकेको र त्यही गाडीमा चुहिएको मोबिल लगायत चलाउँदा मोनो अक्साइड ग्याँस निस्केको हुन सक्ने र त्यसैमा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ ।
प्रहरीले उक्त कार चालक र कार धनीलाई अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button