तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालका स्वास्थ्यकर्मी  माथि हातपात :घटनाको सर्वत्र विरोध

  

बाँके ।  नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्य माथि बिरामीको कुरुवाहरूबाट हातपात र दुर्व्यवहार भएको छ ।  कोभिड संक्रमित बिरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर बिरामीका आफन्तहरूले बिहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीलाई लखेटी लखेटी आक्रमण गरेका अस्पतालले जनाएको छ ।

  जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोभिडबाट गम्भीर अवस्थामा पुगेका डिल्ली बहादुर रावतको अवस्था थप जटिल बन्दै गएको थियो । भेरी अस्पतालको पहिलो तलामा रहेको हल ए को १३ नम्बर आइसियु वेडमा उपचाररत रावतको अवस्था बिहीबार थप खस्कँदै गएपछि डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भेन्टिलेटरमा राख्नु पर्ने सुझाउनुभएको थियो ।

अक्सिजन लेभल खस्कँदै गएपछि थप उपचारका लागि भेन्टिलेटरको विकल्प नभएको स्वास्थ्यकर्मीहरुले स्पष्टसँग बिरामीका आफन्तहरूलाई भनेको अस्पतालले जनाएको छ । उनीहरू भेन्टिलेटरमा राख्न राजी भए । त्यही अनुसार डा दिपक गुप्ता, डा चन्द्रप्रकाश शाहु, डा समा अन्सारी, स्टाफ नर्सहरू आश्वीन गुरुङ, सदिक्षा गैरे, वन्दना श्रेष्ठ उपचारमा खटिनुभएको थियो ।  तर रावतको उपचारकै क्रममा बिहीबार ८ बजेतिर मृत्यु भयो । अस्पताल भर्ना हुँदै रावतको अवस्था गम्भीर थियो ।
एक छिनमा तीन चार जनाको हुल प्रवेश गरेर स्टाफ नर्स सदिक्षा गैरको घाटी थिच्न थाले । डा चन्द्र प्रकाशलाई पनि हातपात गर्न थाले । उहाँहरू फुत्किएर शौचालय तिर भाग्नुभयो । उनीहरू पछ्याउँदै त्यही पुगेर ढोका हान्न थाले । शौचालयमा झ्याल थियो । त्यही झ्यालको सिसा फोडेर डा शाहु, सदिक्षा, वन्दना र आश्विनले हाम फालेर ज्यान जोगाएको डा गुप्ताले बताउनुभयो । डा गुप्ताले उपचारमा खटिएकै बेला चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले आफूहरूलाई असुरक्षित बनाएको बताउनुभयो ।

  यसैबिच घटनाको छानबिन गर्न स्थानीय प्रशासनले मध्यराती सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा छानबिन समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुई जना मृतक डिल्ली रावतका छोरा र एक जना भाइ रहेको खुलेको छ ।
यस्तैगरि अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको नेपाल नर्सिङ सङ्घ बाँकेले निन्दा गरेको छ । आफ्नो ज्यानको बाजी लगाएर कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको नर्सिङ सङ्घ बाँकेले निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले आज बिहान विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘बिरामीको सेवामा निस्स्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको साङ्घातिक अपराधजन्य घोर निकृष्ट घटनाको नेपाल नर्सिङ सङ्घ बाँके भर्त्सना गर्दै सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । दोषी माथि कार्वाही नगरिए आन्दोलन गर्ने चेतावनी चिकित्सक, स्वास्थ्यकर्मी र नर्सहरुले दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button