तपाईँ सुन्दै हुनुहुन्छः

दोषीलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

बाँके । भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।
उपचारका क्रममा एक जना सङ्क्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेपछि सुरक्षा व्यवस्थालाई लिएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुले राजनीति चाहिँदैन, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, नो सेक्युरिटी, नो वर्क, दोषीलाई कारबाही गर, हामीलाई न्याय चाहियो, नेताको पावर चाहिँदैन लगायतका नारा लगाउँदै अस्पताल परिसरमै बिरोध जनाएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले ज्यानै लिने गरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशङ्कामा स्वास्थ्यकर्मीहरू सन्त्रासमा रहेको बताउनुभयो ।
स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् । स्वास्थ्यकर्मीहरुले काम भने नरोकेको मेडिकल सुपरिटेन्डेन्ट डा.थापाले जानकारी दिनुभयो ।
भेरी अस्पतालको भेन्टिलेटरमा उपचाररत गम्भीर अवस्थाका बिरामी दाङका ५४ वर्षीय सङ्क्रमितको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् ।
डा. थापाले ‘चिकित्सकहरूले उनलाई बचाउन हर सम्भव गरिरहेको प्रयास सफल हुन नसकेको’ जानकारी दिनुहुँदै उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि कुटपिट गरेको बताउनुभयो ।
मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गर्नुका साथै उनीहरूले अस्पतालसमेत तोडफोड गरेका छन् ।
मृत्यु हुने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले मान बहादुर रावतसहित तीन जनालाई पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा छोरा भरत र लोकराज रावत पनि छन् ।
मृतकका आफन्तहरूको आक्रमणबाट डा.दीपक गुप्ता, डा.चन्द्रप्रकाश साहु, डा.समा अन्सारी, स्टाफ नर्स आश्विन गुरुङ, दीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button