तपाईँ सुन्दै हुनुहुन्छः

छाउपडी कुप्रथा समाज परिवर्तनको बाधक : सरोकारवाला

अछाम । छाउपडी कुप्रथा अन्त्य नभएसम्म समाजमा परिवर्तन सम्भव नभएको सरोकारवालाले बताएका छन् । यो कुप्रथा महिनावारी हुने उमेर समूहका किशोरी तथा महिलाको समस्या मात्रै नभएर समाजको समस्या भएकाले यस प्रथा विरुद्ध सबै एकजुट भएर अघि बढ्नु पर्ने सरोकारवालाको भनाइ छ ।
विश्व महिनावारी स्वच्छता व्यवस्थापन दिवस २०२१ को अवसरमा सरोकारवाला बीच भएको बहस कार्यक्रममा बोल्दै मङ्गलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले महिनावारी स्वच्छता सहित व्यवस्थापनका लागि नगरले योजना बनाएर अघि बढिरहेको बताउनुभयो । छात्राका विद्यालय तहमा आउने समस्यालाई समेत मध्यनजर गर्दै नगरपालिकाले विद्यालय नर्सिङ कार्यक्रम समेत १ बर्ष अघि नै सञ्चालन गरेको र प्याडको समेत व्यवस्था भैसकेको बताउनुभयो । छात्रालाई सेनेटरी प्याड व्यवस्थापनका लागि आउने समस्यालाई समाधानका लागि आगामी दिनमा भौतिक पूर्वाधारमा समेत जोड दिने बताउनुभयो ।
भर्चुअल माध्यमबाट गरिएको छलफलमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सिराम अर्यालले जिल्लामा करिब ६ हजारको हाराहारीमा अव्यवस्थित असुरक्षित छाउगोठ भत्काइएको जानकारी दिनुभयो । कोरोनाको कहर कम हुँदै गएमा पुनः अनुगमन सहित छाउगोठ भत्काउने तथा जनचेतना जगाउने अभियानलाई अघि बढाउने बताउनुभयो ।
छलफलमा जिल्ला अस्पताल अछामका नर्सिङ इन्चार्ज तथा सूचना अधिकारी गङ्गा बुढामगरले छाउगोठमा बस्दा आमा मात्रै नभएर बालबालिकाका समेत शारीरिक, मानसिक समस्या आउने भएकाले प्रथा अन्त्य गर्न आवश्यक रहेको  बताउनु भयो । गोठ बस्दा हुने असर सहित पोषिलो खाने कुरामा जहिले पनि जोड दिनका लागि सेवाग्राहीलाई सचेतना दिने गरेको बताउनुभयो । कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार मेनुका ढुङ्गाना, महिनावारी उम्र समूहका किशोरी लगायतले गोठको पीडा वास्तविक भोगेकालाई थाहा हुने भएकाले कुरा भन्दा पनि व्यवहारमा सबैले लागू गर्नुपर्ने बताउनुभयो ।
अछाम जिल्लामा विगत १५ वर्षको अवधिमा १४ जना महिला तथा किशोरीको छाउगोठमा बसेको अवस्थामा ज्यान गइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button