तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेत डेरी उद्योगद्वारा कोरोना सङ्क्रमितलाई निःशुल्क दूध, मही 

सुर्खेत ।  सुर्खेत डेरी उद्योगले कोभिड­१९ विरुद्धको लडाइँमा सहयोग गर्ने उद्देश्यले प्रदेश आयुर्वेद औषधालयको कोरोना आइसोलेसनमा उपचाररत बिरामीका लागि निःशुल्क दूध र मही उपलब्ध गराउने भएको छ ।

उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड­१९का बिरामीहरूलाई प्रभावकारी ढङ्गले उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयलाई दैनिक ६ लिटर दूध र हप्तामा १ एक दिन मही निःशुल्क उपलब्ध गराउने भएको हो ।

कोरोना संक्रमित भएर उपचारका लागि आइसोलेसनमा रहेका बिरामीलाई छिटो सञ्चो हुन सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिनासम्म दूध र मही सहयोग गरिने उद्योगका प्रबन्ध निर्देशक माधव धिताले बताउनुभयो ।

उहाँले कोरोना महामारीका बेला धेरै ठुलो सहयोग गर्न नसकिए पनि शक्ति र सामर्थ्यले भ्याएसम्म उद्योगले सामाजिक उत्तरदायित्व बहन गरिरहने जनाउनुभयो ।

‘प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिले कोरोना संक्रमित भएर टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीलाई एक दिन मही सहयोग गर्न फोनमार्फत आग्रह गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘यस्तो विपद्को घडीमा कोरोनाले आजित भएका नागरिकका लागि एक दिन मात्र किन ? हामी एक महिना निःशुल्क दूध र मही उपलब्ध गराउने बचन दिएका हौँ ।’

उहाँले आफ्नो सामाजिक उत्तरदायित्वलाई सर्वोपरि ठानेर मानवताको सेवाका लाग उद्योग हर सम्भव सहयोग गर्न तयार रहेको जिकिर गर्नुभयो ।

प्रदेश आयुर्वेद औषधालयका डा.शंकरप्रसाद रिजालले औषधालयको आग्रहलाई स्वीकार गरेर सुर्खेत डेरी उद्योगले कोरोना सङ्क्रमितका लागि निःशुल्क दूध र मही उपलब्ध गराएको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button