तपाईँ सुन्दै हुनुहुन्छः

झापामा भोलिदेखि निषेधाज्ञा कडा गरिँदै

भद्रपुर, झापा । दोस्रो लहरको कोरोना भाइरसको उच्च जोखिम कायमै रहेका कारण झापामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले भोलि जेठ १५ गते राति १२ बजेदेखि जेठ २१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले यस पटकको निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
निर्णय अनुसार खाद्यान्न, माछा मासु, तरकारी, फलफूल होम डेलिभरी गर्नु पर्नेछ । बैठकले घरमा खाद्यान्न अभाव भएमा उपभोक्ताले स्थानीय पालिका, वाणिज्य सङ्घ वा प्रहरीको समन्वयमा पसलबाट खाद्यान्न लैजान पाउने गरी थप निर्णय गरेको छ ।
बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ लाई कडाइका साथ लागू गराउने पनि निर्णय गरेको छ । अध्यादेशमा कुनै काम गर्न बाधा पुर्‍याउनेलाई एक वर्ष कैद र पाँच लाखसम्म रुपैयाँसम्म जरिवाना हुने गरी सजाय तोकिएको छ । अध्यादेशको मापदण्ड पालना नगर्नेलाई ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना गराइनेछ ।
विकास–निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न दिइने निर्णय भएको छ ।
नयाँ अध्यादेश अनुसार जिल्लामा निषेधाज्ञा गरिएकोले उल्लङ्घन गर्नेलाई कारबाही गरिने प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button