तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा निषेधाज्ञाको समयमा विकास निमार्णलाई निरन्तरता

सल्यान  । कोरोना भाइरसको सङ्क्रमणका कारण देशैभर विकास निमार्णका कामहरू रोकिएका छन् ।

निषेधाज्ञाका कारण देश नै अहिले ठप्प भएको छ । मानिसको भिडभाड हुने स्थान यति बेला सुनसान छन् ।

कोरोना कहरकै कारण विकास निमार्ण प्राय ठप्प नै छन् । तर सल्यानमा भने सामाजिक दुरी कायम राख्दै विकास निमार्णलाई निरन्तरता दिइएको छ ।

स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम राखी विकास निमार्णलाई निरन्तरता दिइएको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए ।

कोरोना महामारी छ भने बसियो भनेपछि कामको लोड पर्ने र महामारी कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले स्वास्थ्य मापदण्ड कायम गरी विकास निमार्णलाई अघि बढाइरहेको उनको भनाई छ ।

‘चालु आर्थिक वर्षको अन्तिममा छौँ असारमा अहिलेको भन्दा व्यापक रुपमा कोरोना फैलिन पनि सक्छ । आखिर काम गर्नु नै छ भने कामको लोड अहिलेदेखि नै कम गर्दै लिँदा सजिलो हुन्छ,’ उनले भने ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका युवायुवतीहरूलाई लक्षित गरी विकास निमार्ण अघि बढाएको शारदा नगरपालिका १२ का वडाध्यक्ष दीपक हमालले बताए  ।

कतिपय मजदुरी गरेर दैनिक जीविकोपार्जन गर्ने नागरिक छन् तिनको चुलोमा आगो बालिराख्न पनि मुख्यमन्त्री रोजगार, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतबाट योजनाहरू सञ्चालन गरी रहेको हमालले बताए । उनले भने ‘नागरिकलाई कोरोना र भोग दुवैबाट बचाउन जरुरी छ ।’

यस्तै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको सिद्ध कुमाख गाउँपालिकाका सूचना अधिकारी भीमलाल भण्डारीले बताए ।

अन्य योजनाहरू बन्द भए पनि प्रत्यक्ष जनता सहभागी हुने कार्यक्रमहरू भने सञ्चालन भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button