तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा दुई जनामा ब्ल्याक फङ्गसको संक्रमण भएको प्रयोगशालाबाट पुष्टि

वीरगंज । वीरगञ्जमा पहिलो पटक प्रयोगशालाबाट कोरोना संक्रमण निको भएका दुई जनामा ब्ल्याक फङ्गस अर्थात् म्युकोर्माइकोसिस संक्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण  निको भएका दुई जना व्यक्तिमा ब्ल्याक फङ्गसको सङ्क्रमण पुष्टि भएको मङ्गलम डाइग्नोष्टिक सेन्टरका वरिष्ठ प्याथोलोजिष्ट प्रोफेसर डा. ए एन ठाकुरले बताउनुभयो ।
फङ्गस कल्चर गर्दा दुई जनामा म्युकोर्माइकोसिस प्रमाणित भएको ठाकुरले जानकारी दिनुभयो ।
म्युकोर्माइकोसिस दुर्लभ, तर खतरनाक फङ्गस सङ्क्रमण भएको र  यो पछिल्लो समय कोरोना सङ्क्रमितमा देखा परिरहेको नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नीरज सिंहले बताउनुभयो ।
यसको बेलैमा उपचार नभए सङ्क्रमितको नाक, आँखा वा दिमागमा असर गर्ने तथा फोक्सोमा समेत फैलिन सक्ने सिंहले बताउनुभयो ।
वरिष्ठ फिजिसियन डाक्टर सिंहले नेपालमा पहिलो पटक प्रयोगशालाबाट ब्ल्याक फङ्गस सङ्क्रमण पुष्टि भए पनि यस अघिनै यो सङ्क्रमणबाट बीरगंजका २ जनाको मृत्यु भइसकेको बताउनुभयो ।
उहाँले ब्ल्याक फङ्गसका शङ्कास्पद सङ्क्रमितमध्ये एक जनाको काठमाडौँस्थित मेडीसिटी अस्पताल र एक जनाको वीरगञ्जस्थित एड्भान्स मेडिकियर अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । काठमाडौँमा मृत्यु भएका सङ्क्रमितलाई वीरगञ्जबाट रेफर गरिएको थियो ।
डा. सिंह अनुसार अहिलेसम्म वीरगंजमा ८ जनामा ब्ल्याक फङ्गसको सङ्क्रमण देखिएको र यसको परीक्षण हुने क्रम जारी रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button