तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक संस्थानहरूको वित्तीय स्थिति सन्तोषजनक : अर्थ मन्त्रालय

काठमाडौँ । सार्वजनिक संस्थानहरूको समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदनले कार्य सम्पादनमा केही सङ्कुचन भएको भए पनि समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको उल्लेख गरेको हो ।
आर्थिक बर्ष २०७६।७७ मा संस्थानहरूको कुल सञ्चित नाफा आर्थिक बर्ष २०७५। ७६को तुलनामा १८.१९ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब ७४ करोड ८० लाख पुगेको छ ।
प्रतिवेदनले सबै सरकारी संस्थानहरूको सञ्चित नाफा २९.५३ प्रतिशतले बढेर ७५ अर्ब ५१ करोड १८ लाख पुगेको जनाएको छ । आर्थिक बर्ष २०७६।७७ मा अस्तित्वमा रहेका मध्ये २४ संस्थानहरूले खुद नाफा ४.२८ प्रतिशत आर्जन गर्न सफल भएका छन् भने १८ वटा संस्थानहरूको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको जनाएको छ । ती संस्थानहरूको प्रशासनिक खर्च १२.६८ प्रतिशतले बढेको पनि समीक्षा प्रतिवेदनले औँल्याएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा संस्थानहरूले कुल ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेका छन्। नाफा घटे पनि लाभांश भुक्तानी दर भने यसपालि बढेको छ । लाभांश भुक्तानी दरमा यसपालि ४८.८७ प्रतिशतले बढेर कुल १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लाभांश भुक्तानी भएको छ ।
सरकारले जम्मा पाँच वटा संस्थानबाट यो लाभांश पाएको हो । कुल लाभांशमध्ये ४३.८२ प्रतिशत हिस्सा नेपाल टेलिकमको छ भने ३६.५६ प्रतिशत हिस्सा नेपाल आयल निगमको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button