तपाईँ सुन्दै हुनुहुन्छः

महामारीबाट प्रभावित सवा ५ लाख करदातालाई २ अर्ब बढी कर छुट

काठमाडौँ । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका छन् ।
अर्थ मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६/७७ मा लाग्ने आयकरमा करदाताले २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् ।
वार्षिक २० लाखसम्मको कारोबार वा दुई लाखसम्म आय हुने करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ४ लाख ४८ हजार ७ सय ५३ करदाताले १ अर्ब ५२ करोड ३८ लाख कर छुट सुविधा प्राप्त गरेका छन् ।
बार्षिक २० लाख देखि ५० लाख रुपैंयासम्मको कारोबार भएका कारोबारको आधारमा कर बुझाउने करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने करमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएकोमा जम्मा २० हजार ६० करदाताले २१ करोड १८ लाख कर छुट सुविधा प्राप्त गरेका छन् ।
वार्षिक १ करोडसम्मको व्यावसायिक कारोबार भएका करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ५१ हजार २ सय ४३ करदाताले  ४० करोड ४३ लाख कर छुट सुविधा प्राप्त गरेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button