तपाईँ सुन्दै हुनुहुन्छः

वल्डभिजनद्धारा प्रदेश नं. २ सरकारलाई ४१ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

सर्लाही ।  वल्डभिजन इन्टरनेसनल नेपालले प्रदेश नं. २ सरकारलाई करिब ४१ लाख रुपैयाँ बराबरको एक सय थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको छ । प्रदेश नं. २ सरकारका मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा सामाजिक विकास मन्त्री नबल किशोर साहलाई उक्त स्वास्थ्य सामाग्री संस्थाको पूर्वी क्षेत्रीय कार्यालयका सञ्चार विज्ञ प्रमिल अधिकारीले हस्तान्तरण गर्नु भएको हो ।
विपद् तथा मानवीय सहायताका क्षेत्रमा नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्डभिजनले कोरोना महामारीसँग जुध्नको लागि प्रदेश सरकारलाई सहयोग गर्ने उद्देश्यले एक सय थान अक्सिजन सिलिण्डर, एक सय थान अक्सिमिटर, एक सय थान पिपिई सेट, एक सय थान थर्मल गन र ४ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्राप्त भएका सामाग्रीहरू कोरोनाबाट आक्रान्त जनताको जीवन जोगाउन सहयोगी हुने बताए । मुख्यमन्त्री राउतले सहयोगका लागि संस्थालाई धन्यवाद समेत दिए ।
कोभिड–१९ बाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले संस्थाद्वारा कभर २ परियोजना मार्फत यस अघि रौतहट, महोत्तरी जिल्लामा समेत संस्थाले अक्सिजन सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको वल्डभिजन इन्टरनेसनल नेपालका पूर्वी क्षेत्रीय कार्यालयका सञ्चार विज्ञ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button