तपाईँ सुन्दै हुनुहुन्छः

सिँजा गाउँपालिकाका किसानलाई उन्नत बाख्रा वितरण

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाले किसानलाई उन्नत जातका बिउ बाख्रा वितरण गरेको छ । किसानको जीवनस्तर उकास्न तथा व्यवसायीक बाख्रा पालन बढाएर आम्दानी बढाउन किसानलाई उन्नत बाख्रा वितरण गरिएको हो । पुर्ख्यौली रुपमा पहिलेदेखि  बाख्रा पालन गर्दै आएका किसानलाई व्यवसायी बनाउन थप उन्नत बाख्रा वितरण गरिएको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यवसाय प्रवर्द्धन सँगै किसानलाई प्रोत्साहित गर्न बाख्रा दिएका हौ । सिँजा क्षेत्र बाख्रा पालनको लागि अनुकूल क्षेत्र हो । यहाँ चरन क्षेत्र र बाख्रा पालनप्रति स्थानीयको आकर्षण भएकोले पनि बाख्रा पालन व्यवसायीक बन्ने आशा छ ।”
पहिलो चरणमा सिंजा गाउँपालिका ६ मा सक्रिय व्यावसायिक १ सय ३३ जना किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको अध्यक्ष रावलको भनाई छ । उहाँका सिंजाका रुघा,काँडागाउ,भाँडगाउ १ सय ३३ किसान लाई ५ /५ वटा बाख्रा दिइएको हो ।
१ सय ३३ जना किसानलाई प्रति किसान ५/५ वटा बाख्राका दरले पहिलो चरणका ६ सय ६५ वटा बाख्रा बाँडिएको पशु शाखा संयोजक मित्रलाल धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कोरोनाले गर्दा सबै व्यवसाय ठप्प छ । प्राकृतिक विपत्तिले गर्दा विगतमा सयौँ भेडा बाख्रा मर्दै आएका छन् । किसानलाई राहत सँगै आय-आर्जन वृद्धि गर्ने उद्देश्यले अति गरिब तथा विपन्न व्यवसायीक किसान छनौट गरी बाख्रा दिइएको हो ।”
किसानका घरमै पुगेर ५/५ वटा बाख्रा दिँदा किसान खुसी भएका छन् । किसानको जीवनस्तर उकास्न तथा चरण क्षेत्रअनुसार बाख्रा पालनलाई व्यवसायीक बनाउन सिंजामा भेडा पालनलाई बढवा दिएकोमा एक किसानले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button