तपाईँ सुन्दै हुनुहुन्छः

दूध बिक्री नहुँदा किसान चिन्तित

सल्यान । दूध बिक्री हुन नसक्दा सल्यानमा दुग्ध व्यवसायी किसान निराश बनेका छन् ।

बढ्दो कोरोना संक्रमण रोकथामका लागि एक महिनादेखि जारी निषेधाज्ञाका कारण दूधको बिक्री वितरण नहुँदा दुग्ध व्यावसायिक किसान चिन्तित भएका हुन ।

दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका किसान बढी मर्कामा परेका छन् ।

किसानहरूले उत्पादन गरेको दूध दुग्ध व्यवसायीले खरिद गर्न कम गरेपछि दूधको व्यवस्थापन गर्न समस्या भएको किसानहरूको भनाई छ ।

कोरोनाको त्रास र निषेधाज्ञाले जिल्लाका व्यावसायिक दूध किसानहरू निकै मर्कामा परेका छन् । उनीहरूले उत्पादित दूध बिक्री गर्न सकिरहेका छैनन् । एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ ।

दूध बिक्री नहुँदा मासिक १ लाख ५० हजारका दरले आफूलाई घाटा लागि रहेको त्रिवेणी गाउँपालिका ६ लुहामका किसान कृष्णा कुमार रेउलेले बताए । उनले भने ‘गाईले अहिले निषेधाज्ञा छ, दूध नदे भन्ने कुरा भएन , गाईले दूध त दिइनै हाल्छ तर दुहेको दूध कहाँ राख्ने समस्या छ ।’

विगत ६ वर्ष अघि देखि कृष्ण गाई फर्म सञ्चालन गर्दै आएका रेउलेले दैनिक १ सय २० लिटर भन्दा बढी उत्पादन भएको दूधले बजार नपाएको बताए । ‘बीस वटा गाईबाट बिहान साँझको दूध १ सय २० लिटरभन्दा बढी हुन्छ पहिले डेरी खुल्ला थिए र लिन्थे तर आजभोलि दूध नै बिक्री भइरहेको छैन’ उनले भने ।

निषेधाज्ञाले दूध मात्र बिक्री गर्न समस्या नभई बस्तुभाउलाई खुवाउने दाना ल्याउन पनि समस्या भइरहेको रेउलेको भनाई छ । दाना ल्याउन दाङ जाँदा पास नभएको भन्दै बिच बाटोबाटै फर्किनु परेको दुखेसो पोखे ।

निषेधाज्ञामा सवारी साधन नचल्दा दूध ढुवानीमा निकै समस्या भएको सिद्ध कुमाख गाउँपालिका १ पटोरका भैँसी पालक किसान राजेश कुमार बस्नेतले बताए । दैनिक ४५ लिटर दूध उत्पादन हुने तर आफ्नो साधन नहुँदा डेरीसम्म पुर्‍याउन निकै सास्ती भोग्नु परेको उनको भनाई छ । दूध बिक्रीबाट मासिक ८० हजारसम्म आम्दानी गर्ने गरेको भए पनि अहिले आम्दानी घटेको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button